-भक्तराज रसाइली
काठमाण्डौ । मार्जिन कारोबार सेवा सञ्चालनका लागि नेपाल राष्ट्र बैंकले थप २  ब्रोकर कम्पनीहरुलाई स्वीकृति दिएको छ । 

सोमबार नेपाल राष्ट्र बैंकबाट मार्जिन कारोबार सेवा संचालनको स्वीकृति पाउनेमा ब्रोकर नम्बर ३६ सेक्युर्ड सेक्युरिटीज लि. र ब्रोकर नम्बर ३४ को भिजन सेक्युरिटीज रहेका छन् । 

यसअघि ब्रोकर नम्बर ५० ले मार्जिन कारोबारको स्वीकृति पाइसकेको छ । थप दुईसहित मार्जिन कारोबार सेवा संचालनको स्वीकृति पाउने ब्रोकरको संख्या ३ पुगेको छ । 

मार्जिन कारोबारका लागि ब्रोकरहरुले आफ्नो सिस्टमको धमाधम विकास गरिरहेका छन् भने यो सुविधा औपचारिक रुपमा सुरुवात भइसकेपछि लगानीकर्ताले र स्वयम् ब्रोकरलाई झञ्झट नहोस् भन्ने उद्देश्यले सिडिएससीले पनि आफ्नो सिस्टमलाई मार्जिन कारोबारमैत्री बनाउने काम गरिरहेको छ । 

ब्रोकर कम्पनी सेक्युर्ड सेक्युरिटीज लिमिटेडका सञ्चालक सन्तोष मैनाली  र भिजन सेक्युरिटीज प्रा.लि.का संचालक राजकुमार तिमिल्सिनाले राष्ट्रबैंकबाट अनुमति पाएको पुष्टि गर्दै मार्जिन कारोबारको पूर्वाधार तयारीमा लागेको जानकारी दिए ।

केन्द्रीय बैंकबाट स्वीकृति पाए पनि यी तीनै ब्रोकरलाई आवश्यक मापदण्ड र पूर्वाधारको अवस्था हेरी नेप्से सञ्चालक समितिले अन्तिम अनुमति दिनुपर्छ । नेप्सेबाट अनुमति आइसकेपछि मात्रै लगानीकर्ताहरुले सहज ढंगबाट आफ्नै ब्रोकरमार्फत सेयर मार्जिन कारोबारको सुविधा पाउने छन् ।

चैत १४ गते नेपाल राष्ट्रबैंकले एक सर्कुलर जारी गर्दै धितोपत्र व्यवसायीलाई नेप्सेको सिफारिसमा नेपाल राष्ट्रबैंक ऐन, २०५८ को दफा ७६ मा भएको  व्यवस्था बमोजिम राष्ट्रबैंकले नै स्वीकृति प्रदान गर्ने व्यवस्था गरेसँगै मार्जिन कारोबारका विषयमा लामो समयदेखिको अन्यौल  हटेको थियो ।

सर्टटम कारोबारी २ देखि अढाई महिना समयावधिका लागि आफ्ना ब्रोकरमार्फत मार्जिन सुविधा लिएर बजार बढेका बखत लाभान्वित हुन सक्दछन् ।

ब्रोकर कम्पनीहरुले वाणिज्य बैंकबाट ऋण सापटी लिई व्यवस्थापन र सञ्चालन खर्च समेत जोडी ब्याज लगाउँदा लगभग फाइनान्स कम्पनी सोसरहकै ब्याजदर पर्न सक्ने अनुमान गरिएको छ ।  

यसको अर्थ १६ प्रतिशत आसपास हुन जाने र यो प्रत्येक त्रैमासमा बजारको अवस्थाअनुसार परिवर्तन हुनसक्ने मार्जिन कारोबार कार्यविधिले व्यवस्था गरेको छ। 

विशेषतः छोटो समयका लागि वित्तीय व्यवस्थापन होस् भन्ने उद्देश्यले छिटोछरितो र सहज ढंगबाट मार्जिन कारोबारका लागि अनुमति पाएका ब्रोकर कम्पनीबाट यस किसिमको सुविधा लगानीकर्ताहरुले पाउन लागेका हुन् ।

ब्रोकर कम्पनीले आफ्ना ग्राहकहरुलाई नेप्सेबाट हालै सार्वजनिक ३३ कम्पनीका धितोपत्र खरिदका लागि धितोपत्रको कुल मूल्यको निश्चित प्रतिशत रकम ऋणको रुपमा उपलब्ध गराउने छ ।