काठमाण्डौ । नेपाल धितोपत्र बोर्ड (सेबोन)बाट लाइसेन्स पाएका थप १० वटा ब्रोकर कम्पनीको नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले प्राविधिक र भौतिक पूर्वाधार निरीक्षणको कामलाई अगाडि बढाएको छ। 

नेप्सेले सेबोनबाट नयाँ लाइसेन्स प्राप्त नबिल सेक्युरिटिज, शुभकामना सेक्युरिटिज, मेगा स्टक मार्केट्स, हातेमालो फाइनान्सियल सर्भिसेस, एलिट स्टक हाउस, इन्फिनिटी सेक्युरिटिज, इन्डेक्स सेक्युरिटिज, मनी वर्ल्ड सेयर एक्सचेन्ज, माछापुच्छ्रे सेक्युरिटिज र कलश स्टक मार्केटको प्राविधिक र भौतिक पूर्वाधार निरीक्षणको काम अगाडि बढाएको हो। यीमध्ये सेबोनबाट नबिल सेक्युरिटिजले स्टक डिलरका रुपमा काम गर्ने अनुमति पाएको छ भने अन्यले सामान्य ब्रोकरेज सेवा सञ्चालनको स्वीकृति पाएका छन्। 

पहिलो चरणमा ती १० ब्रोकर कम्पनीको फाइल अध्ययन गर्ने काम सकिएको नेप्सेका प्रवक्ता मुराहरि पराजुलीले जानकारी दिए। ‘अहिले प्राविधिक र भौतिक पूर्वाधार निरीक्षणको काम भइरहेको छ’, उनले भने।

प्राविधिक र भौतिक पूर्वाधार निरीक्षणको काम सकिएपछि मात्र मक ट्रेडिङ (परीक्षण कारोबार) सुरु हुने पराजुलीले बताए। ‘त्यसका लागि अझै केही समय लाग्न सक्छ’, उनले भने।

नेप्सेबाट गत असार २१ गते नयाँ वटा ब्रोकर कम्पनीले कारोबार सदस्यता प्राप्त गरेका थिए। कारोबार सदस्यता पाउने नयाँ ब्रोकर कम्पनीहरुमा सन सेक्युरिटिल (स्टक ब्रोकर नं. ६४), हिमालयन ब्रोकरेज (स्टक ब्रोकर नं. ६३), मियो सेक्युरिटिज (स्टक ब्रोकर नं. ६६), सेयरप्रो (स्टक ब्रोकर नं. ६५), भोले गणेश सेक्युरिटिज (स्टक ब्रोकर नं. ६१), क्यापिटल म्याक्स (स्टक ब्रोकर नं. ६२) र प्रोपर्टी विजार्ड (स्टक ब्रोकर नं. ६७) छन्। 

यी ब्रोकरले गत असार २८ गतेबाट औपचारिक रुपमा कारोबार सुरु गरिसकेका छन्। 

स्रोतका अनुसार ती ७ वटा ब्रोकरका प्रतिनिधिहरु कारोबार सञ्चालन सदस्यता पाउनका लागि निकै लागिपरेका थिए। ‘उनीहरु सँगसँगै दैनिकजसो नेप्सेको कार्यालयमा आउने गरेका थिए, उनीहरु सेवा सुरु गर्न निकै आतुर थिए, जसका कारण उनीहरुले छिट्टै कारोबार सदस्यता पाए’, स्रोतले भन्यो, ‘तर, नेप्सेबाट अहिले प्राविधिक र भौतिक पूर्वाधारको निरीक्षण भइरहेका १० वटा ब्रोकरका प्रतिनिधिहरु कारोबार सदस्यता पाउनका लागि खासै सक्रिय भएर लागेका छैनन्। नेप्सेमा के हुँदैछ भनेर बुझ्न पनि एक्ला–एक्लै आउने गरेका छन्। त्यसैले उनीहरुले कारोबार सदस्यता पाउन केही समय लाग्लाजस्तो छ।’