काठमाण्डौ । नेपाल धितोपत्र बोर्डले थप ब्रोकर लाइसेन्सको वितरण प्रक्रियालाई तीव्रगतिमा अगाडि बढाएको छ। 

ब्रोकर लाइसेन्स वितरणका आवश्यक नियमावली बनाउन अर्थ मन्त्रालयका सहसचिवको संयोकजत्वमा कार्यदल गठन गरिएको छ। सोही कार्यदलबाट नियमावली बनाउने काम अन्तिम चरणमा पुगेको छ। नियमावली बनेसँगै थप ब्रोकर लाइसेन्स वितरणको प्रक्रिया द्रुत गतिमा अगाडि बढ्ने धितोपत्र बोर्ड स्रोत बताउँछ। 

धितोपत्र बोर्ड स्रोतका अनुसार अहिलेकै मोडलमा बैंकका सहायक कम्पनी, प्रदेशिकस्तरमा मापदण्ड पूरा गरेका इच्छुक संस्था र हाल सञ्चालनमा रहेका ब्रोकरहरुलाई शाखा विस्तारका लागि अनुमति दिइने हिसाबले नियमावली बनाइरहेको छ। प्रादेशिकस्तरमा मात्रै काम गर्न चाहेमा पनि ब्रोकर लाइसेन्स वितरण गरिने बताइएको छ। 

ब्रोकर लाइन्सेन्स लिनलाई भने चुक्तापुँजी कम्तीमा ५ करोडदेखि १ अर्ब रुपैयाँसम्म हुनुपर्ने तोकिनेछ। ‘सेयर ब्रोकरेजको मात्र काम गर्ने ब्रोकरलाई ५ करोड रुपैयाँ चुक्तापुँजी भए पुग्छ’, स्रोतले भन्यो, ‘तर सेयर ब्रोकरेजसँगै पोर्टफोलियो व्यवस्थापनलगायतका सबै काम गर्ने ब्रोकरको हकमा भने १ अर्ब रुपैयाँ चुक्तापुँजी हुनुपर्नेछ।’