काठमाण्डौ । भारतले बुधबारदेखि नेपालबाट थप १८० मेगावाट विद्युत खरीद गर्ने भएको छ । 

भारत सरकारले नेपालबाट १८० मेगावाट थप विद्युत आयातका लागि स्वीकृति दिएको हो । 

सबै प्रक्रिया समयमै सकिएको खण्डमा थप खरीदको स्वीकृति पाएको विद्युत बुधबारदेखि नै भारत निर्यात हुन थाल्नेछ । 

नेपाल विद्यूत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङकाअनुसार दोर्दीखोला, सोलु दूधकोसी, अपर कालगाढ र अपर चमेलिया आयोजनाबाट उत्पादन हुने विद्यूत पनि भारत निर्यात हुनेछ । 

प्राधिकरणकाअनुसार नेपालले हाल ४५१.७ मेगावाट बिजुली भारतलाई बिक्री गरिरहेको छ । १८० मेगावाट थप भएपछि कुल ६३१.७ मेगावाट बिजुली भारत निर्यात सम्भव हुनेछ । 

भारतले पछिल्लो समय नेपालको बिजुलीलाई प्राथमिकता दिइरहेको छ । त्यहाँको मन्त्रीपरिषद बैठकले बुधबार नै आगामी १० वर्षभित्रमा नेपालबाट १० हजार विद्युत खरीद गर्ने निर्णय पनि गरेको छ । 

भारतबाट बिजुली खरीदका लागि भएका यस्ता एकपछि अर्को निर्णयले नेपालको जलविद्युत क्षेत्रमा उत्साह आउने देखिएको छ । उत्पादित बिजुलीले राम्रो बजार पाएको खण्डमा बिजुली बजार हराभरा हुनेछ भने यसले सेयरको दोश्रो बजारमा पनि उत्साह ल्याउनसक्ने देखिन्छ । 
प्राधिकरणका अनुसार हाल नेपालले भारतलाई प्रतियुनिट १६ रुपैयाँसम्म मूल्य लिएर बिजुली बेचिरहेको छ । 

प्राधिकरणले ०७८ कात्तिकदेखि भारतमा बिजुली निर्यात गर्न थालेको हो । 

प्राधिकरणकाअनुसार यसअघि भारतमा विद्यतु बिक्रीका लागि २३.२८ मेगावाटको त्रिशूली जलविद्युत्, १४.५५ मेगावाटको देवीघाट, २१.४४ मेगावाटको चिलिमे जलविद्युत् र २२.८ मेगावाटको सोलुखोला, ६७ मेगावाटको मर्स्याङ्दी, १४० मेगावाटको कालीगण्डकी ए, ६८ मेगावाटको मध्यमर्स्याङ्दी र ५१ मेगावाटको लिखु–४, २४.२५ मेगावाटको काबेली बी–१ र १९.४ मेगावाटको तल्लो मोदीले अनुमति पाएका थिए ।