काठमाण्डौ । नेपाल धितोपत्र बोर्ड (सेबोन)ले थप नयाँ शाखा खोल्न विभिन्न ब्रोकर हाउसलाई अनुमति प्रदान गरेको छ। 

सेबोनका प्रवक्ता मुक्तिनाथ श्रेष्ठका अनुसार ११ ब्रोकर कम्पनीलाई थप २० वटा नयाँ शाखा खोल्न अनुमति प्रदान गरिएको हो। ‘शाखा विस्तारका लागि एउटै ब्रोकर हाउसलाई ६ वटासम्म नयाँ शाखा दिइएको छ’, उनले भने। 

सेबोनले सबैभन्दा धेरै ६ वटा नयाँ शाखा खोल्न भृकुटी स्टक ब्रोकिङ कम्पनीलाई अनुमति दिएको छ। भृकुटीले वीरगन्ज (पर्सा), धुलिखेल (काभ्रे), वीरेन्द्रनगर (सुर्खेत), बर्दिबास (महोत्तरी), बेनी (म्याग्दी) र चरीकोट (दोलखा)मा शाखा खोल्न अनुमति पाएको छ। 

यसैगरी भिजन सेक्युरिटिजले ३ स्थानमा नयाँ शाखा विस्तारको अनुमति पाएको छ। अब भिजनले चन्द्रौटा (कपिलवस्तु), इलाम बजार (इलाम) र टीकापुर (कैलाली)मा शाखा खोल्नेछ। 

निभ सेक्युरिटिज र सुन्धारा सेक्युरिटिजले २–२ वटा नयाँ शाखा खोल्ने अनुमति पाएका छन्। निभले हरिवन (सर्लाही) र अत्तरिया (कैलाली)मा तथा सुन्धाराले सिमरा (बारा) र पर्सा (चितवन)मा नयाँ शाखा विस्तार गर्नेछन्। 

यस्तै कालिका सेक्युरिटिजले बर्दिबास (महोत्तरी), त्रिशक्ति सेक्युरिटिजले महेन्द्रनगर (कञ्चनपुर), इम्पेरियल सेक्युरिटिजले धादिङबेसी (धादिङ), थ्राइभ ब्रोकरेजले दमौली (तनहुँ), क्रियटिभ सेक्युरिटिजले तानसेन (पाल्पा), आशुतोष सेक्युरिटिजले मिर्चैया (सिराहा) र मिडास स्टक ब्रोकिङले गोरखा बजार (गोरखा)मा शाखा खोल्न अनुमति पाएका छन्। 

प्रवक्ता श्रेष्ठले धितोपत्र दलाल व्यवसायीले शाखा कार्यालय खोल्नेसम्बन्धी निर्देशिका, २०७९ अनुसार ती ब्रोकर कम्पनीहरुलाई नयाँ शाखा खोल्ने अनुमति प्रदान गरिएको जानकारी दिए।