काठमाण्डौ। नेपालमा आज बुधबार थप दुईजना कोरोना संक्रमित फेला परेका छन्।

स्वास्थ्य मन्त्रालयका अनुसार काठमाण्डौको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला र काभ्रेको धुलिखेल अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा थप एक/एकजना पुरुषमा कोरोना संक्रमण भेटिएको हो। 

काठमाण्डौको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा कपिलवस्तुको कपिलवस्तु नगरपालिका–५ का २२ वर्षीय पुरुषमा कोरोना संक्रमण भेटिएको छ।

त्यस्तै धुलिखेल अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा बाँकेको नेपालगन्ज उपमहानगरपालिका–८ का ३६ वर्षीय एक पुरुषमा कोरोना संक्रमण देखिएको छ। 

संक्रमित ती दुवै पुरुषको अवस्था सामान्य रहेको र स्वास्थ्यकर्मीको सम्पर्कमा रहेको मन्त्रालयका सहप्रवक्ता डा समीरकुमार अधिकारीले जानकारी दिए।

यीसँगै नेपालमा कुल संक्रमितको संख्या २१९ पुगेको छ।