काठमाण्डौ । नियामक निकायहरुको कमजोर नियमन भूमिका र केही संगठित गिरोहहरुको तीव्र चलखेलका कारण बजार बढ्ने आशामा बसेका लगानीकर्ताहरुलाई सोमबारको बजारको प्रदर्शन निराश बनाइदिएको छ । केही दिनदेखि दैनिकजसो दोहोरो अंकले घटिरहेको बजारमा सोमबार २५.४७ अंकको पहिरो गयो । निरन्तर पहिरो बगिरहेको बजारलाई थामथुम गर्ने प्रयास केही विश्लेषक, अगुवा लगानीकर्ता र संचारमाध्यमहरुले गरे पनि त्यसको तुलनामा बजार घटाउने गिरोह शक्तिशाली बन्दा र नियामकले समेत रहस्यमय मौनता साँधिदिंदा सामान्य लगानीकर्ता अत्तालिएका छन् । 

बजार निरन्तर घटेकै कारण कतिपय अत्तालिएर सेयर बिक्री गर्न थालेका छन् । बजारमा सक्रिय गिरोहको चलखेलको अगाडि कतिपय कम्पनीहरुले गरिरहेका लाभांशको घोषणाले प्रभाव पारेको देखिएको छैन । संभावित लाभांश माया मारेरै भए पनि सेयर बिक्री गर्न लगानीकर्ता तम्सिएपछि अवस्था अझ निराशाजनक हुने हो कि भन्ने चिन्ता समेत व्याप्त बनेको छ । 

तर, विश्लेषकहरु अझै पनि बजार घट्ने आधारभूत कारणहरु नरहेका दाबी गर्दै धैर्यता नछाड्न लगानीकर्तालाई आग्रह गरिरहेका छन् । एकथरि भने बजारमा चाडपर्वको प्रभाव समेत परेको, कतिपय म्युुचुुअल फण्डहरुले आफूसँग भएको सेयर बिक्री गर्नतिर लागेका, कतिपय चाडपर्व खर्च जुटाउन समेत सेयर बिक्री गर्न थालेका भन्दै बजार तत्काल बढ्न नसक्ने अवस्था रहेको दाबी गर्न थालेका छन् । थरिथरिका विज्ञ विश्लेषकहरुको आ आफ्नै दाबीका कारण सर्वसाधारण लगानीकर्ता थप बिलखबन्दमा परेका छन् । 

एकवर्षअघि बजार बुम भइरहेको समयमा दोहोरो अंकको वृद्धि हुनेबित्तिकै धितोपत्र बोर्ड र नेपाल स्टक एक्सचेञ्जले समेत विज्ञप्ति निकालेर लगानीकर्तालाई संभावित दुर्घटनाको बिषयमा सचेत गराउँथे । तर, यसपटक केही दिनदेखि दोहोरो अंकले बजार बढेर १५५० को स्तरमा नेप्से परिसूचक आइसक्दा समेत नियामकहरु चूप छन् । अनेक हल्ला र गिरोहहरुले बजार घटाइरहँदा समेत बोर्ड, नेप्से चूप छन् ।

के के भयो सोमबारको बजारमा ?
सोमबार नेप्से परिसूचक २५.४७ अंकले घटेर १५५४.५६ अंकमा झर्यो । यो दिन सबै समूहको परिसूचकमा पहिरो गएको देखियो । बैकिंग समूह २५.७४ अंक, बिमा समूह १३६.७३, विकास बैंक समूह ३६.१७, होटल समूह १३.२५, जलविद्युत समूह १९.७३, बित्त समूह ४.०१,उत्पादनमूलक १८.४६ र अन्य समूह ४.९१ अंकले घटे । क वर्गका कम्पनीहरुको कारोबारमा डरलाग्दो संकुचन आएका कारण सेन्सेटिभ इण्डेक्स ५.८३ अंकले घट्यो भने समग्र कारोबार मापक फ्लोट इण्डेक्स पनि २.०३ अंकले घट्न पुुग्यो ।

धेरै कारोबार गर्ने कम्पनी
यो दिन बजारमा १ सय ५२ कम्पनीका १५ लाख ७० हजार ७ सय ३१ कित्ता सेयर ८४ करोड २९ लाख २० हजार ३४ रुपैयाँमा किनबेच भयो । सबैभन्दा बढी फ्रस्ट माइक्रोफाइनान्स डेभलपमेन्ट बैंकले ३ करोड २७ लाख बढीको कारोबार गर्यो । नेपाल लाइफ इन्स्योरेन्सले २ करोड ९४ लाख, स्ट्याण्डर्ड चार्टर्ड बैंकले २ करोड ८७ लाख, महालक्ष्मी विकास बैंकले २ करोड ८२ लाख, यूनाइटेड इन्स्योरेन्सले २ करोड ६० लाख, नबील बैंकले २ करोड २२ लाख, इन्भेष्टमेन्ट बैंकले २ करोड ५ लाख बढीको कारोबार गरे । यो दिन धेरै कारोबार गर्ने १० कम्पनीको सूचिमा ५ स्थान वाणिज्य बैंकले ओगटे ।

धेरै कमाउने र गुमाउने कम्पनी
बजारमा दोहोरो अंकको पहिरो जाँदा समेत आरएसडिसी लघुवित्तका लगानीकर्ताले चाहि पैसा छापे । यो कम्पनीको सेयर मूल्य १० प्रतिशतको हाराहारीमा बढ्न पुुग्यो । ङादी ग्रुप पावर लिमीटेडको सेयर मूल्य ७ प्रतिशतको हाराहारीमा बढ्न पुुग्यो । 

यो दिन हाम्रो विकास बैंकले सबैभन्दा धेरै गुमायो । यो कम्पनीको सेयर मूल्य ७ प्रतिशतको हाराहारीमा घट्न पुुग्यो । यस्तै, प्रोग्रेसिभ फाइनान्स, यूनाइटेड इन्स्योरेन्स र सप्तकोसी डेभलपमेन्ट बैंकको मूल्य ६ प्रतिशतभन्दा बढीले घट्न पुुग्यो ।