काठमाण्डौ । सेयर बजारलाई अनुत्पादक क्षेत्रको लगानी भनेका अर्थमन्त्रीको भनाईको प्रभाव सोमबार पनि बजारमा देखियो । यो दिन बजार परिसूचक(नेप्से) १६.६९ अंकले घट्दै १२ सयको लाइनमा झरेको छ । नेप्से परिसूचक बर्षकै न्यून १२८७.७४ अंकमा सीमित बन्न पुुगेको हो । 

परिसूचकसँगै कारोबार रकम पनि घटेको छ । परिसूचक र कारोबार रकम एकसाथ घट्ने प्रवृति बजारको भविष्यका लागि सुखद होइन । यो प्रवृति निरन्तर रहे बजारमा अझै ठूलो पहिरो जाने संभावना रहने विश्लेषकहरु बताउँछन् । 

अर्थमन्त्रीको भनाईले घटाइरहेको बजारका लागि अन्य सुखद कुराहरु पनि तत्काल नदेखिँदा लगानीकर्ताको मनोबल निरन्तर गिरिरहेको देखिएको हो । 

यो दिन बजारमा व्यापार र होटल समूहमा झिनो वृद्धि देखिए पनि बाँकी सबै समूहको सूचकमा पहिरो गयो । बैकिङ समूह ९.८७ अंकले घट्यो भने बिमा, विकास बैंक र माइक्रोफाइनान्स समूहमा क्रमशः ११९.२१, ११.४ र ४३.७६ अंकको गिरावट देखियो । जलविद्युत समूह ४५.४ अंक, बित्त समूह ६.०९ अंक, उत्पादनमूलक ४६.४७ अंक र अन्य समूह १०.१९ अंकले घटे । व्यापार समूह ६.८५ र होटल समूह २.४८ अंकले बढ्यो । 

‘क’ वर्गका कम्पनीहरुको कारोबार मापक सेन्सेटिभ इण्डेक्स ३.२४ अंकले घट्यो भने समग्र कारोबार मापक फ्लोट इण्डेक्समा १.३ अंकको गिरावट देखियो । 

धेरै कारोबार गर्ने कम्पनी
यो दिन बजारमा १ सय ५३ कम्पनीका ९ लाख ७७ हजार ४७ कित्ता सेयर ३९ करोड ५२ लाख १७ हजार ४ सय ३५ रुपैयाँमा किनबेच भयो । यो दिन सबैभन्दा बढी नेपाल लाइफ इन्स्योरेन्सले २ करोड ३६ लाख बढीको कारोबार गर्यो । यस्तै, स्ट्याण्डर्ड चार्टर्डले १ करोड ९५ लाख, ग्लोबल आइएमई बैंकले १ करोड ३७ लाख, इन्भेष्टमेन्ट बैंकले १ करोड २२ लाख, सानिमा बैंकले १ करोड १८ लाख बढीको कारोबार गरे । इन्भेष्टमेन्ट बैंकको १ करोड ६ लाखको संस्थापक सेयर किनबेच भएको बजारमा एभरेष्ट बैंकले १ करोड ३ लाख, नवील बैंकले ९९ लाख, बोटलर्स नेपाल तराई लिमीटेडले ९५ लाख बढीको कारोबार गरे । 

धेरै कमाउने र गुमाउने कम्पनी
यो दिन स्वदेशी लघुवित्तका सेयरधनीले धेरै कमाए । यो कम्पनीको सेयर मूल्य १० प्रतिशतको हाराहारीमा वृद्धि भयो । यस्तै, विशाल बजार कम्पनीको मूल्यमा ५ प्रतिशतको हाराहारीमा बढोत्तरी भयो । 

यो दिन हिमालयन डिस्टीलरीको मूल्यमा १० प्रतिशतकै हाराहारीमा पहिरो गयो ।