काठमाण्डौ । बजारको सुस्त चाल सोमबार पनि जारी रह्यो । यो दिन नेप्से परिसूचक ९.५४ अंकले घटेर ११६८.९१ को विन्दूमा सीमित बन्न पुगेको छ । 

बजार विकास, विस्तार र सुधारका लागि सरकार र अन्य सम्बद्ध निकायहरुले ध्यान नदिंदा बजारको अवस्था दिनहुँ नाजुक बन्दै गएको छ । बजार पूँजीकरण दयनीय अवस्थामा पुगेको छ भने लगानीकर्ताहरुले दिनहुँ बिनाकारण करोडौं गुमाइरहँदा समेत यसप्रति कसैको चासो नगएको देखिएको छ । 

सरकार र सम्बद्ध सरोकारवाला निकायको चरम बेवास्ताका कारण बजारको गिरावट निरन्तर रहँदा कारोबार रकम समेत घट्न थालेको छ । नेप्से परिसूचकसँगै कारोबार रकम समेत घट्दै जानु भविष्यका लागि अझै बढी अशुभ संकेत हो । यस्तो प्रवृति केही दिनसम्म जारी रहे बजार अझै तल पुग्नसक्ने संभावना रहने जानकार बताउँछन् । 

बजार बढ्ने अवस्था नदेखेपछि लगानीकर्ताहरु घट्दो बजारमा समेत सेयर बेच्ने हतारोमा देखिएका छन् । बजार घटेर न्यून विन्दूमा पुगेको बेलामा राम्रा कम्पनीको सेयर सस्तोमै उठाउने अवसर समेत त्यागेर लगानीकर्ता धमाधम सेयर बेच्दै बजारबाट एक्जिट हुनु गम्भीर अवस्था रहेको विश्लेषकहरुले बताइरहेका छन् । अहिले लगानीकर्ता घाटै गएर सेयर बजारबाट उम्किन खोजिरहेका उनीहरु बताउँछन् । 

लगानीकर्ताहरुमा सेयर बजारप्रतिको विश्वास दिनहुँ कमजोर बन्दै गएको छ । यसले समग्र अर्थतन्त्रलाई नै नराम्रोसँग प्रभावित बनाउनसक्छ । विश्लेषकहरुले भनेका छन्–‘लगानीकर्ताको गिर्दो मनोबलमा तत्काल कुनै मल्हमपट्टि लगाउन नसकिए आगामी दिन अझ भयावह हुनसक्छन् । 

कतिपय बजारका जानकार भने घटेर न्यून विन्दूमा पुगेकै समयलाई खरिदारीको सुवर्ण मौका पनि भनिरहेका छन् । न्यून अवस्थामा रहेको बजारमा राम्रा कम्पनीको सेयर समेत कौडीको भाउमा फालाफाल पाइने भएकोले यस्तो अवसर छोप्नेले भविष्यमा सेयर बजारबाट राम्रो कमाई गर्नसक्ने उनीहरुको दाबी छ । 

आइतबार झै सोमबार पनि लगानीकर्ताहरुले राम्रा र बलिया कम्पनीको सेयर बिक्रीको गति बढाएका छन् । यहीकारण सेन्सेटिभ इण्डेक्स १.७७ अंकले घटेको छ । समग्र कारोबार मापक फ्लोट इण्डेक्समा ०.६३ अंकको गिरावट देखिएको छ । 

यो दिन उत्पादन तथा प्रशोधन समूह ५.३९ अंकले बढे पनि बाँकी सबै समूहको उपसूचक घटेका छन् । 

बैंकिङ समूह ६.८१ अंकले घटेको यो दिन विकास बैंक समूहमा ३.०३, बित्त समूहमा २.४८, माइक्रोफाइनान्स समूहमा १३.७६ अंक, जीवन बिमा समूहमा ६४.६ अंक, निर्जीवन बिमा समूहमा ६६.०८ अंक, होटल समूहमा ४४.५९ अंक, ट्रेडिङ समूहमा ४.७३ अंक, जलविद्युत समूहमा ८.४६ अंक, म्युचुअल फण्ड समूहमा ०.१३ अंक र अन्य समूहमा १०.८३ अंकको गिरावट आएको छ । 

धेरै कारोबार गर्ने कम्पनी
यो दिन बजारमा १७३ कम्पनीका १४ लाख २८ हजार ८३८ कित्ता सेयर २९ करोड ९२ लाख ७६४ रुपैयाँमा किनबेच भएको छ । 

सबैभन्दा बढी सिभिल बैंकको ४ करोडको संस्थापक सेयर किनबेच भएको छ भने कुमारी बैंकले १ करोड १९ लाख, एभरेष्ट बैंकले पनि १ करोड १९ लाख, लक्ष्मी बैंकले १ करोड ११ लाख, नेपाल लाइफ इन्स्योरेन्सले १ करोड ६ लाख, आँधीखोला लघुवित्तले १ करोड ६ लाख,  नेपाल बैंकले ८८ लाख बढीको कारोबार गरेका छन् । 

सेञ्चुरी कमर्सियल बैंकको ८४ लाख बढीको संस्थापक सेयर किनबेच भएको बजारमा कृषि विकास बैंकले ८२ लाख र सिद्धार्थ बैंकले ८० लाख बढीको कारोबार गरेका छन्। 

धेरै कमाउने र गुमाउने कम्पनी
यो दिन पनि आँधीखोला लघुुवित्तका लगानीकर्ताले धेरै कमाए । यो कम्पनीको सेयर मूल्य ५.१८ प्रतिशतले बढ्यो । 

यूनाइटेड इन्स्योरेन्सका लगानीकर्ताले धेरै गुमाए । यो कम्पनीको सेयर मूल्य ५.३१ प्रतिशतले घट्यो ।