काठमाण्डौ । दर्ता भएको करिब ११ वर्षपछि निर्जीवन बिमा कम्पनी अजोड इन्स्योरेन्स लिमीटेडले आफ्नो औपचारिक कारोबार थालेको छ ।

बिमा समितिबाट संचालनको अनुमति पाएको अजोडले बिहीबार एक औपचारिक कार्यक्रम गरी व्यवसायको औपचारिक सुरुवात गरेको हो । 

अजोडलाई बिमा समितिले १० औं निर्जीवन बिमा कम्पनीको रुपमा संचालनको अनुमति दिएको छ ।

कम्पनीको कर्पोरेट कार्यालय सुन्धारास्थित सिटीसी मलमा राखिएको छ । जहाँ बिहीकार औपचारिक कार्यक्रम आयोजना गरी संचालक समितिका अध्यक्ष विनोद बिष्टले कारोबारको औपचारिक सुरुवात गरेका थिए । 

यो कम्पनीले ०६४ साल चैत २० गते कम्पनी रजिष्टारको कार्यालयमा दर्ता भएको थियो । दर्ता भएको ११ वर्षपछि कम्पनीले औपचारिकता पाएको हो । 

को को छन् लगानीकर्ता ?
यो निर्जीवन बिमा कम्पनीमा केही वाणिज्य बैंक, विभिन्न इन्भेष्टमेन्ट कम्पनी, पर्यटन व्यवसायी तथा अन्य क्षेत्रको प्रतिष्ठित व्यापारी लगायतको लगानी छ । 

कम्पनीको संस्थापक सेयरधनी १०४ जना रहेका छन् । संचालक समितिमा भने अध्यक्षको रुपमा विनोदप्रसाद बिष्ट, तथा सदस्यहरुमा आजाद श्रेष्ठ, भाटभटेनीका मालिक मीनबहादुर गुरुङ्ग, राजेन्द्र कायस्थ, सागर गुरुङ्ग रहेका छन् । 

कम्पनीको प्रमुख कार्यकारी अधिकृत(सीइओ)मा कुमारबहादुर खत्री रहेका छन् । खत्री नेपाल इन्स्योरेन्स, आइएमई जनरल हुँदै लुम्बिनी जनरल इन्स्योरेन्सको सहायक महाप्रबन्धकसम्म भइसकेका छन् । उनीसँग निकै लामो बिमा व्यवसायमा काम गरेको अनुभव छ ।

आइपीओ आउने
कम्पनीको औपचारिक सुरुवातका लागि आयोजित कार्यक्रममा बताइएअनुसार यो कम्पनीले ३० करोड रुपैयाँ बराबरको आइपीओ सर्वसाधारणका लागि निश्कासन गर्नेछ ।