काठमाण्डौ । सेयर लगानीकर्ताको दवाब समूहले आफ्ना आन्दोलनका कार्यक्रमलाई मोफसलमा समेत केन्द्रीत गर्ने घोषणा गरेको छ । 

रिले अनसन थालिएको चौथो दिन एक विज्ञप्ति प्रकाशित गर्दै दवाब समूहले जिल्ला जिल्लाका सेयर लगानीकर्तालाई समेत आन्दोलनमा उत्रिन आह्वान गरेको हो । 

गत आइतबारदेखि यो समूहले अर्थमन्त्री डा. युवराज खतिवडाको राजीनामाको मुख्य मागसहितका १४ बुँदे प्रस्तुत गर्दै काठमाण्डौको भद्रकालीस्थित नेपाल स्टक एक्सचेञ्ज अगाडि रिले अनसनलाई जारी राखेको छ । 

अनसनको चौथो दिनसम्म पनि आफ्ना माग पूरा गराउनेतर्फ अर्थमन्त्री र अन्य सरोकारवालाले चासो नदिएको भन्दै दवाब समूहले अब प्रत्येक जिल्लास्थित जिल्ला प्रशासन कार्यालय अगाडि समेत लगानीकर्तालाई रिले अनसन सुरु गर्न आह्वान गरेको हो । 

जिल्लाका लगानीकर्ताले समेत अर्थमन्त्रीको राजीनामालाई मुख्य माग बनाउनेछन् ।

दवाब समूहले सरकारको नेतृत्व गर्नेहरु समेत पूँजीबजारको बिस्तार, सुधार र लगानीकर्ताको लगानी सुरक्षाप्रति गैरजिम्मेवार रहेको आरोप लगाउँदै अर्थतन्त्र संकटतर्फ जाँदै गर्दा एकजना पूर्व सरकारी कर्मचारीको भरमा अर्थमन्त्रालय छाडेर चूपचाप बस्नुलाई आश्चर्यजनक भनेको छ । 
विश्व बैंक, आइएमएफ र अरु दातृ निकायले समेत नेपालको आर्थिक अवस्थाबारे गम्भीर चासो व्यक्त गरिरहेको अवस्थामा व्यवसाय गर्ने वातावरणमा ह्रास र लगानीको सुरक्षामा उत्पन्न संकटले नेपालमा लगानीमैत्री वातावरण नभएको सन्देश विश्वव्यापी बन्न गएको भन्दै अर्थमन्त्री खतिवडाको बहिर्गमन र अर्थतन्त्रलाई सही बाटोमा ल्याउनसक्ने राजनीतिक पृष्ठभूमिका नेतालाई अर्थमन्त्रालयको चाबी दिन समेत दवाब समूहले सत्तासीन दललाई आग्रह गरेको छ । 

दवाब समूहको आन्दोलनलाई नेपाली कांग्रेस, नेपाली कांग्रेस(वीपी), राजपा, राप्रपा राष्ट्रवादी लगायतका राजनीतिक दलहरुले समर्थन जनाइसकेका विज्ञप्तिमा उल्लेख छ ।

समूहले मंसिर २५ गते अर्थसमितिमा भएको छलफलमा नेप्से, धितोपत्र बोर्ड, राष्ट्रबैंकका अधिकारीहरुको प्रस्तुतीले उनीहरु पूँजीबजारको विकास र बिस्तारमा गम्भीर नरहेका प्रष्ट भएको र छलफलमै एकअर्काप्रति आरोप प्रत्यारोपमा उत्रिएका भन्दै उनीहरुबाट पूँजीबजारका समस्या सम्बोधन हुने अवस्था नरहेको दाबी गरेको छ ।