काठमाण्डौ । पुस १ गतेदेखि आमरण अनसन बस्ने घोषणालाई दोहोर्याउँदै सेयर लगानीकर्ताको दवाब समूहले धितोपत्र बोर्डका अध्यक्ष, नेप्से प्रमुख लगायतको राजीनामा समेत मागेको छ । 

दवाब समूहका संयोजक हरि ढकालले शुक्रबार एक विज्ञप्ति जारी गर्दै आमरण अनसन बसेपछि आफ्ना न्यूनतम माग र शर्त अर्थमन्त्री डा. युवराज खतिवडाको राजीनामासँगै धितोपत्र बोर्डका अध्यक्ष रेवतबहादुर कार्की, कार्यकारी निर्देशक निरज गिरी, गभर्नर डा. चिरञ्जिवी नेपाल, बिमा समितिका अध्यक्ष चिरञ्जिवी चापागाई, नेप्से अध्यक्ष लक्ष्मण न्यौपाने र सीइओ चन्द्रसिंह साउदको बर्खास्ती पनि हुने प्रष्ट्याएका हुन् । 

बिहीबार नेकपाका नेता देव गुरुङ आएर लगानीकर्ताको जारी रिले अनसनप्रति ऐक्यबद्धता जनाएका थिए । सो क्रममा उनले अर्थमन्त्रीको राजीनामासम्म पुग्नै नपर्ने आश्वासन दिंदै घुमाउरो ढंगले बजारका नियामक तथा संचालकप्रति पनि आन्दोलन तीर सोझ्याउन लगानीकर्तालाई सुझाएका थिए । त्यसको भोलिपल्टै प्रकाशित विज्ञप्तिमा धितोपत्र बोर्डका अध्यक्ष, गभर्नर, नेप्से प्रमुख लगायतलाई बर्खास्त गर्नुपर्ने मागसहितको विज्ञप्ति आएको हो । 

लगानीकर्ताले पूर्व शर्तको रुपमा राखिएका माग पूरा भएपछि मात्र आफ्ना १४ बुँदे मागको बिषयमा वार्ता हुनसक्ने समेत प्रष्ट्याएका छन् । 

हालसम्म लगानीकर्ताको रिले अनसनलाई नेपाली कांग्रेस, सत्तारुढ दल नेकपा, राजपा, नेपाली कांग्रेस(वीपी), राप्रपा राष्टवादी, राप्रपा लगायतका दल तथा तिनका नेताले समर्थन जनाइसकेका छन् । लगानीकर्ताको विभिन्न संघसंगठनले समेत अनसनप्रति ऐक्यबद्धता जनाएका छन् । 

राजधानी बाहिर चितवन, बुटवल, नेपालगञ्ज र विराटनगरका लगानीकर्ता समेत अनसन बस्न थालेका विज्ञप्तिमा उल्लेख छ । 

यसैबीच, दवाब समूहले कडा पूर्वशर्तहरु थप्दै विज्ञप्ति प्रकाशन गरेकै दिन अर्थमन्त्रीबाट गठन भएको उच्चस्तरीय अध्ययन समितिले आज आफ्नो प्रतिवेदन बुझाउँदैछ । समितिको प्रतिवेदनमा मुद्रा र पूँजीबजारका समस्या र तिनको निराकरणको उपाय सुझाइएको समितिका एक सदस्यले बताए । 

समितिलाई डेपुटी गभर्नर शिवराज श्रेष्ठले नेतृत्व गरेका छन् भने सदस्यको रुपमा अर्थमन्त्रालयका सहसचिव उत्तरकुमार खत्री, बैंकर्स संघका अध्यक्ष ज्ञानेन्द्रप्रसाद ढुंगाना, धितोपत्र बोर्डका अध्यक्ष रेवतबहादुर कार्की र लगानीकर्ताको प्रतिनिधिको रुपमा नेपाल इन्भेष्टर्स फोरमका अध्यक्ष अम्बिकाप्रसाद पौडेल सहभागी छन् । 

सो समितिमा लगानीकर्ताको तर्फबाट पौडेल सहभागी रहेका भनिए पनि दवाब समूहले भने त्यसमा आपत्ति जनाउँदै आएको छ । समूहले उनीमाथि बिचौलियासम्मको आरोप लगाएर विज्ञप्ति नै प्रकाशित गरेको थियो । अध्ययन समितिको तर्फबाट बुधबार अनसनस्थलमा जान खोजेका अम्बिका पौडेल आफूमाथि दुव्र्यवहार हुनसक्ने विश्लेषण गर्दै अन्तिम अवस्थामा रोकिएका थिए । सो दिन पौडेलसँगै धितोपत्र बोर्डका प्रवक्ता निरज गिरी समेत अनसनमा बसेका लगानीकर्तामाझ जान खोजेका थिए । तर, गिरीप्रति समेत लगानीकर्तामा आक्रोश रहेकोले उनी समेत गएनन् ।