काठमाण्डौ । दशैंका लागि भनेजस्तो खसी, भेडा र च्याङ्ग्रा खरीद गर्ने योजनामा हुनुहुन्छ भने तपाईंका लागि खुशीको खबर । छानी–छानी खसी तथा भेडा च्याङ्ग्रा किन्न चाहनेका लागि नेपाल खाद्य संस्थानले आइतबारदेखि बिक्री खुल्ला गर्दैछ । 

संस्थानले काठमाण्डौका उपभोक्ताको ध्यानलाई केन्द्रमा राखी आइतबारदेखि नै दशैंका लागि मुस्ताङबाट ल्याइएको ७ सय ५० भेडा च्याङ्ग्रा र हेटौडाबाट ल्याइएको २ सय खसीबोका बिक्री थाल्ने भएको हो । 

नेपाल खाद्य संस्थानका प्रवक्ता पवन कार्कीले बिजशालासँग कुरा गर्दै आइतबार दिउँसोदेखि भेडा च्याङ्ग्रा र खसीबोका बिक्री खुल्ला गरिने जानकारी दिए । उनका अनुसार दशैंका लागि भनी मुस्ताङबाट ७ सय ५० च्याङग्रा शनिबार काठमाण्डौ ल्याइपुर्याइएको छ । संस्थानले थप ७ सय ५० वटा च्याङग्रा पनि खरीद गरिसकेको छ र एक दुई दिनमै ती च्याङ्ग्रालाई पनि काठमाण्डौसम्म ल्याउने व्यवस्था हुनेछ । 

हेटौंडा र लहानमा थप ४ ४ सय खसीबोका पनि खरीद गरिसकिएको छ । ती खसीबोकालाई पनि सकेसम्म छिटो काठमाण्डौ ल्याएर उचित मूल्यमा बिक्रीवितरण गरिने प्रवक्ता कार्कीले जानकारी दिए । 

उनका अनुसार खसीबोका र च्याङ्ग्रा थापाथलीस्थित संस्थानको डिपोबाट बिक्री गरिनेछ । 

संस्थानले यो वर्षको दशैंतिहारका लागि च्याङ्ग्रा प्रति किलोग्राम ४ सय ८५ रुपैयाँको दरले खरीद गरेर ल्याएको बताएको छ ।