काठमाडौं । दशैं मनाउनका लागि काठमाडौँ उपत्यकाबाट बाहिरिएका मानिस फर्कन थालेका छन् । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घका अनुसार विजयादसमीको तेस्रो दिन आजसम्म चार लाख मानिस राजधानी भित्रिसकेका छन् ।

महासङ्घका महासचिव सरोज सिटौलाका अनुसार दशैंको टीका लगाएर पूर्णिमासम्म ५० प्रतिशत मानिस काठमाण्डौं फर्कन्छन् भने ५० प्रतिशत मानिस तिहार पर्व मनाएर मात्र फर्किने गरिन्छ ।

उपत्यकाका विभिन्न नाकाबाट देशका विभिन्न गन्तव्यमा २२ लाखभन्दा बढी मानिस दसैँ मनाउन वाहिरिएका थिए । उपत्यकाका नागढुङ्गा, बल्खु, अरनिको राजमार्ग, बिपी राजमार्ग, साँखु, पासाङल्हामु मार्ग र टोखा–छहरे राजमार्गबाट यात्रु देशका विभिन्न गन्तव्यबाट फर्किरहेका छन् ।

महासचिव सिटौलाले दशैंका अवधिमा कुनै अप्रिय घटना नघटेको तथा विगतका दसैँभन्दा यसपालि यात्रु सहज तरिकाले गन्तव्यमा पुगेको र फर्कदा पनि सहज भएको बताए ।

दसैँलाई लक्षित गरी अहिले सानाठूला गरी दैनिक पाँच हजारको हाराहारीमा सवारी आवतजावत भइरहेको महासङ्घले जनाएको छ । सामान्य अवस्थामा दैनिक एक हजारदेखि एक हजार २०० सम्म सवारी आवतजावत गर्थे ।

महासङ्घले यात्रुको चाप र सुविधालाई मध्यनजर गरी असोज १५ देखि ३० गतेसम्म ‘पकेट पर्मिट’ दिएकाले देशभरका जुनसुकै सवारी जतासुकै सहज रुपमा जानसक्ने व्यवस्था गरेको छ ।