काठमाण्डौ । दशैंको मोजमस्तीमा भएको पैसा सबै सक्नुहुँदैछ ? एकछिन पख्नुहोस्, नियन्त्रित ढंगले रमाइलो गर्नुहोला, भएको पैसा सबै नसक्नुहोला । कारण तपाईंका लागि अरुण कावेली पावर लिमीटेडले दशैं लगत्तै लगानीको राम्रो अवसर खुलाउँदैछ । 

अरुण काबेलीको १ सय रुपैयाँ अंकित मूल्यको आइपीओ आगामी कात्तिक ७ गतेदेखि निश्कासन हुनेछ । कम्पनीले एक सूचना प्रकाशित गरी जनाएअनुसार सेयर छिटोमा १२ गते, त्यसबेलासम्म पनि माग अनुसारको आवेदन नपरे ढिलोमा २३ गतेसम्म आइपीओका लागि आवेदन दिने सकिनेछ । आइपीओको निश्कासन तथा व्यवस्थापनका लागि बिक्री प्रबन्धकको काम सिद्धार्थ क्यापिटलले गर्ने बताइएको छ । 

सिद्धार्थ क्यापिटलका अनुसार कुल निश्कासनहुनेमध्ये ३ प्रतिशत कर्मचारीका लागि र ५ प्रतिशत म्युचुअल फण्डहरुका लागि छुट्याइएको छ । कम्पनीले पाँचथर र ताप्लेजुङ जिल्लाको सिमा भएर बग्ने कावेली नदीमा २५ मेगावाटको कावेली बी–१ परियोजना निर्माण गरिरहेको छ । प्रतिमेगावाट १६ करोड रुपैयाँका दरले चार अर्ब रुपैयाँमा निर्माण पूरा गर्ने कम्पनीले जनाएको छ ।

सूचना अनुसार सिद्धार्थ क्यापिटलको कार्यालय, थापाथलीको ट्रेड टावर स्थित अरुण कावेलीको कार्यालय र सिद्धार्थ बैंकका सबै शाखाबाट यो कम्पनीको आइपीओमा आवेदन गर्न सकिनेछ ।

आर्थिक बर्ष २०७३/७४ मा यो परियोजना सक्ने लक्षका साथ नेपाल बिद्युत प्राधिकरणसँग विद्युत खरिद सम्झौता (पिपिए) गरिएको छ । 

आइपिओ बाँडफाँड पश्चात कम्पनीको चुक्तापूँजी एक अर्ब ५० करोड रुपैयाँ पुग्नेछ । कम्पनीमा त्यसपछि संस्थापक समूहको ७०, आयोजना प्रभावित बासिन्दाको १० प्रतिशत र सर्वसाधारणको २० प्रतिशत सेयर स्वामित्व कायम हुनेछ । 

कम्पनीका एक अधिकारीका अनुसार आयोजना निर्माणकै क्रममा रहेको हुँदा प्रतिफलका लागि भने लगानीकर्ताले केही समय कुर्नु पर्ने हुन्छ ।