काठमाण्डौ । दशैं विदापछि खुलेको बजारको दमदार ओपनिङ भएको छ । वाणिज्य बैंकहरुको सेयरमा खरीद चाप ह्वात्तै बढेका कारण नेप्से परिसूचकमा उछाल आएको छ भने कारोबार रकममा पनि उल्लेख्य सुधार आएको छ । 

वाणिज्य बैंकसँगै विकास बैंक, बित्त कम्पनीहरुको सेयरमा समेत उछाल आयो । 

कोरोना कहरका बीच बैंक तथा वित्तीय संस्थाहरुले एकपछि अर्को गर्दै सरप्राइज लाभांश घोषणा गर्न थालेपछि त्यसको प्रभाव सेयर बजारमा देखिएको हो । यही कारण दशैंविदा पछि खुलेको सेयर बजारमा ४१.२० अंकको उछाल आएको छ । 

उछालको गतिमा दौडिएको बजार मापक परिसूचक(नेप्से) १६४७.४५ को विन्दूमा पुगेको छ भने पौने ३ अर्ब रुपैयाँ हाराहारीको सेयर किनबेच भएको छ । २०७४ साल साउन २९ गतेपछि अर्थात साढे ३८ महिनापछि सेयर बजार परिसूचक सबैभन्दा माथिल्लो विन्दूमा पुगेको हो । 

कारोबार सुरु भएदेखि नै बैंकिङ समूह बढ्न थालेको छ । यो समूहका कारण समग्र बजारमा रौनक छायो । 

बजार बन्द हुँदासम्म बैंकिङ समूह ५५.१५ अंकले बढ्यो । यो भनेको ४.२७ प्रतिशतको उछाल हो । 

यस्तै, विकास बैंक समूहको उपसूचक ६०.९७ अंक(करिब ३ प्रतिशत)ले बढ्यो भने वित्त समूह १३.३८ अंक, होटल समूह ३२.८५ अंक, जलविद्युत समूह ३.८६ अंक, जीवन बिमा समूह २५.१९ अंक, निर्जीवन बिमा समूह ४७.०७ अंक, उत्पादन तथा प्रशोधन समूह २०.८८ अंक, माइक्रोफाइनान्स समूह २५.१९ अंक, अन्य समूह १४.५७ अंकले बढे । 

यो दिन व्यापार समूहमा भने ८.८३ अंकको गिरावट आयो । 

नेपालको सेयर बजार बैंक तथा वित्तीय संस्थाहरुबाट बढी प्रभावित हुने बजार हो । बजार पूँजीकरणको हिसाबले पनि वाणिज्य बैंकहरुका कारण यो समूह अग्र स्थानमा छन् । यहीकारण वाणिज्य बैंक समूहमा चमक आउनेबित्तिकै त्यसले समग्र बजारलाई नयाँ रौनकले भरिदिन्छ । बुधबारको बजार त्यस्तै देखिएको छ । 

कतिपय लगानीकर्ता तथा विश्लेषकहरु लगानीकर्ताहरुले लगानीको क्षेत्र फेर्दै अगाडि बढ्नू र त्यसमा पनि बजारलाई लिड गर्ने समूहका स्क्रिप्ट चल्न थालेपछि वास्तविक बुल सुरु हुने र बुधबारको प्रवृति केही दिनसम्म निरन्तर रहे नेप्से परिसूचक अलटाइम हाईमा पुग्नसक्ने अनुमान लगाइरहेका छन् । 

हालसम्म नेप्से परिसूचकको अलटाइम हाईको विन्दू १८८१ हो । केही दिनसम्म वाणिज्य बैंकको स्क्रिप्टमा बुधबारको जस्तै आकर्षण रहने हो भने अलटाइम हाईको विन्दूलाई नेप्सेले निकै चाँडै ब्रेक गर्ने संभावना देखिएको विश्लेषकहरुले दाबी गर्न थालेका छन् । 

धेरै कारोबार गर्ने कम्पनी
यो दिन बजारमा १८८ कम्पनीका ९३ लाख २२ हजार ८५ कित्ता सेयर २ अर्ब ७२ करोड ५९ लाख बढीमा कारोबार भयो । 

यो दिन सबैभन्दा धेरै ग्लोबल आइएमई बैंकले २० करोड ६५ लाख बढीको कारोबार गर्यो । 

प्राइम कमर्सियल बैंकले १७ करोड बढी, प्रभू बैंकले १६ करोड बढी, सिटिजन्स बैंकले ११ करोड हाराहारी, नेपाल बैंकले ९ करोड बढी, कुमारी बैंकले पनि ९ करोड बढी, एनआइसी एशिया बैंकले साढे ८ करोड बढी, एनएमबी बैंकले ७.६ करोड बढी, सिभिल बैंकले ७.६ करोड बढी र मेगा बैंकले ६.६ करोड बढी कारोबार गरे । 

धेरै कमाउने र गुमाउने कम्पनी
यो दिन धेरै कमाउने मुख्य १० कम्पनीको सूचीमा ८ स्थान वाणिज्य बैंकले कब्जा गरे । 

प्राइम कमर्सियल बैंक, सिटिन्जस बैंक र नेपाल फाइनान्सको सेयर मूल्यमा पोजिटिभ सर्किट लाग्यो । यी तीनै कम्पनीको सेयरमूल्य १० प्रतिशत हाराहारीमा बढे । 

प्रभू बैंकको मूल्य ८.५५ प्रतिशतले बढ्यो भने इन्भेष्टमेन्ट बैंकको संस्थापक सेयरको मूल्य ८.३३ प्रतिशतले वृद्धि भयो । 

सनराइज बैंकको मूल्य ७.५७ प्रतिशत, लक्ष्मी बैंकको ७.४३ प्रतिशत, सिभिल बैंकको ७.०६ प्रतिशत, नेपाल बंगलादेश बैंकको ६.१९ प्रतिशतले सेयरमूल्य बढ्यो । 

यो दिन सबैभन्दा धेरै गुमाउनेमा जलविद्युत कम्पनीहरु रहेका छन् । सबैभन्दा बढी पञ्चकन्या माई हाइड्रोपावरका लगानीकर्ताले ३.४७ प्रतिशतले सम्पत्ति गुमाए । रिदी हाइड्रोपावर, माउण्टेन हाइड्रो नेपाल लिमीटेड, नेशनल हाइड्रोपावर कम्पनी लिमीटेड र दिव्यश्वरी हाइड्रोपावर लिमीटेडको सेयर मूल्य ३ प्रतिशत हाराहारीमा घट्यो ।