काठमाण्डौ ।  दसैँको चहलपहल बजारमा सुरु भइसकेको छ ।

आसन्न दसैँतिहार तथा छठ पर्व नजिकिंदै जाँदा विभिन्न कम्पनीहरुले चाडपर्व लक्षित विभिन्न उपहार योजनाहरु सार्वजनिक गर्न थालेका छन् । ती कम्पनीहरुले ग्राहकलाई आकर्षित गर्न दैनिक उपभोग्य खाद्य सामग्रीदेखि लिएर विद्युतीय उपकरण दिने योजना ल्याएका छन् ।

यसैगरी, कतिपय  चार पाङ्ग्रे सवारी बिक्रेताले चाहिँ वस्तु तथा सेवाको खरिदमा विभिन्न उपहार दिने योजना सार्वजनिक गरेका छन् । उद्योगी व्यवसायीहरुले आफ्ना उत्पादन तथा वस्तु बिक्रीका लागि मार्केटिङ गर्न यस्तो योजना ल्याएका हुन्  ।

ग्राहकलाई आफ्ना सवारी साधनमा आकर्षण गर्न अटोमोबाइल सम्बद्ध कम्पनीहरुले नयाँ गाडी खरिदमा गाडी उपहार, नगद छुटदेखि विदेश भ्रमणसम्मका अफरहरु सार्वजनिक गरेका छन् । यतिमात्र नभई उनीहरुले टेस्ट राइड गर्ने, प्रर्दशनी गर्ने, बुकिङ खुल्ला गर्ने जस्ता ग्राहक लक्षित कार्यक्रमलाई पनि तिब्र पारेका छन् ।उनीहरूले आफ्ना उत्पादनको खरिदमा उपहार तथा नगद छुटका अफरहरू समेत सार्वजनिक गरेका छन् ।

ग्लोबल आइएमईको छूट तथा क्यासब्याक योजना
कम्पनीले बडादसैंको अवसरमा ‘ग्लोबल आइएमई बैंकको साथमा दसैँ रमाइलो’ भन्ने नारासहित विभिन्न डिजिटल कारोबारहरूमा छूट तथा क्यासब्याक योजनाहरू सार्वजनिक गरेको छ । 

कम्पनीको डेबिट तथा क्रेडिट कार्डवाहकले आफूलाई आवश्यक सरसामानहरू खरिद गर्दा बैंकको कार्ड प्रयोग गरी पीओएस मेसिनबाट भुक्तानी गर्दा  ३०० देखि ५०० रुपैयाँसम्मको नगद फिर्ता पाउनेछन् । 

 

निसानका गाडी खरीद गर्दा १४ लाख छुट

नेपालका लागि निसान गाडीको आधिकारिक बिक्रेता पायोनियर मोटोकर्पले दसैँ, तिहार अफर सार्वजनिक गरेको छ । कम्पनीले निशानको गाडी खरिद गर्दा १३ लाख ७५ हजार रुपैयाँसम्म छुट सुविधाको घोषणा गरेको हो ।

कम्पनीले निसान फेष्टिभ ड्राइभ २०८० भन्दै १३ लाख ७५ हजार २२६ रुपैयाँसम्मको अफर योजना ल्याएको हो । उक्त अफरसँगै कम्पनीले नगद छुट मात्र ८ लाखसम्म हुने जनाएको छ । यस्तै एक वर्षको बीमा र एक वर्षको सडक कर पनि निःशुल्क प्रदान गर्ने जनाएको छ ।

गरिमा बैंकको दसैं अफर : कार्ड प्रयोग गरी किनमेल गर्दा २०% क्यासब्याक

कम्पनीले ग्राहकका लागि कुनै पनि सामान खरिद गरी विकास बैंकको डेबिटरक्रेडिट कार्डबाट भुक्तानी गर्दा २० प्रतिशत वा अधिकतम  २०० रुपैयाँसम्म नगद फिर्ता योजना ल्याएको छ । 

यस योजना अन्तर्गत बैंकको डेबिट/क्रेडिट कार्ड प्रयोगकर्ताहरुले विकास बैंकको एउटा कार्डबाट अधिकतम २०० रुपैयाँसम्म नगद फिर्ता पाउन सक्ने कम्पनीले जनाएको छ । 

टाटाका गाडी खरीद गर्दा ७ लाख ३० हजार छुट

दसैं, तिहारमा टाटाका गाडी किन्दा ७ लाख ३० हजार रुपैयाँसम्म छुट पाइने छ । नेपालका लागि टाटा गाडीको आधिकारीक बिक्रेता सिप्रदी ट्रेडिङले उक्त अफर सार्वजनिक गरेको हो ।कम्पनीले सार्वजनिक गरेको अफरअन्तर्गत टाटा आइस रेञ्जका गाडीको खरिदमा ग्राहकहरुले ७ लाख ३० हजार रुपैयाँसम्मको फाइदा प्राप्त गर्न सक्नेछन् ।

त्यस्तै, नगद छुट, वार्षिक सवारी करमा छुट, एक वर्षको बीमा सुविधा, एक्सचेन्ज बोनस र एक्सेसरिजहरु पनि प्राप्त गर्न सक्ने कम्पनीले जनाएको छ ।

हुन्डाईको गाडी किन्दा ६ लाखसम्म छुट

हुन्डाई अटोमोबाइल्सको आधिकारिक विक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टलले चाडपर्व लक्षित अफर ‘फेष्टिभ डिलाइट–२०८०’ योजना सार्वजनिक गरेको छ । कम्पनीले सार्वजनिक गरेको उक्त योजना अनुसार हुन्डाईका गाडी किन्ने ग्राहले ६ लाख रुपैयाँसम्म छुट पाउनेछन् ।

उक्त छुटसँगै कम्पनीले हुन्डाइ फेष्टिभ डिलाइट २०८० अन्तर्गत हुन्डाईका कुनै पनि गाडीको खरिदमा स्क्रयाच कार्डमार्फत थप १ लाख रुपैयाँसम्म ग्राहकले जित्न सक्नेछन् । एक वर्षको लागि निःशुल्क सवारी बीमा र सडक कर ग्राहकले पाउनेछन् ।

यस्तैगरी, कम्पनीले क्रेटा गाडी खरिदमा २ लाख नगद छुटको घोषणा गरेको छ । कम्पनीले क्रेटा गाडीको खरिदमा स्क्रयाच कार्डमार्फत थप एक लाख रुपैयाँ, एक वर्षको लागि निःशुल्क सवारी बीमा र सडक करमा छुटको घोषणा गरेको छ ।

एमजीका गाडी किन्दा २ लाख फाइदा

एमजी गाडीको आधिकारिक बिक्रेता पारामाउन्ट मोटर्सले चाडपर्व लक्षित अफर योजना सार्वजनिक गरेको छ । मोरिस ग्यारेज (एमजी) का विद्युतीय गाडी किन्ने ग्राहकले २ लाख रुपैयाँसम्म फाइदा पाउने छन् ।

विद्युतीय गाडीको मात्र बिक्री गर्दै आएको कम्पनीले नयाँ गाडी खरिदमा स्पेयर टायर, चार्जर र एक वर्षको बीमा निशुल्क दिने घोषणा गरेको छ।कम्पनीले घोषणा गरेको उक्त अफर २ लाख रुपैयाँ बराबरको भएको बताएको छ ।

फोटोनको गाडी किन्दा थाइल्यान्डदेखि बालीसम्म घुम्न पाउने
दसैँतिहारमा फोटोनका गाडी किन्नेहरुले थाइल्यान्डदेखि इन्डोनेसियाको बालीसम्म घुम्न पाउने छन् । नेपालका लागि फोटोन गाडीको आधिकारिक बिक्रेता एमएडब्लू बृद्धि कमर्सियल भेहिकल प्रालिले दसैँ, तिहारका लागि उक्त अफर सार्वजनिक गरेको हो ।

कम्पनीले सार्वजनिक गरेको अफर अन्तरगत फोटोनका जुनसुकै गाडी किन्नेहरुले उपहार पाउनेछन् । फोटोनका गाडी बुकिङ गर्नेहरुमध्ये कम्पनीले एक जनालाई बाली र एक जनालाई थाइल्याण्ड घुम्न जान अवसर घोषणा गरेको हो ।

यस्तै, कम्पनीले गाडी खरिद गर्नेमध्ये एक जनालाई स्मार्ट टिभी, २ जनालाई स्मार्टवाच, २ जनालाई रेफ्रिजिरेटर, २ जनालाई वासिङ मेसिन र ३ जनालाई मोबाइल फोन प्रदान गर्ने जनाएको छ ।