काठमाण्डौ । विश्व महामारी कोरोनाभाइरसबाट अतिप्रभावित छिमेकी मुलुक भारतको राजधानी दिल्लीका स्वास्थ्यमन्त्री सत्येन्द्र जैनको स्वास्थ्यमा समस्या देखिएपछि सोमबार अस्पताल भर्ना गरिएको छ। उनमा कोरोनाको आशंका गरिएको छ। 

मन्त्री जैनमा उच्च ज्वरो देखिएको छ भने सास लिन पनि उनलाई समस्या भइरहेको छ। उनलाई सोमबार दिल्लीस्थित राजीव गान्धी सुपर स्पेसलिटी अस्पतालमा भर्ना गरिएको हो। 

समाचार स्रोतका अनुसार जैनको आज कोरोना परीक्षण हुनेछ। 

यसैबीच दिल्लीका मुख्यमन्त्री अरविन्द केजरिवालले जैनलाई स्वास्थ्यलाभको कामना गर्दै ट्विट गरेका छन्। ट्विटमा केजरिवालले भनेका छन्, ‘आफ्नो स्वास्थ्यको पर्वाह नगरी तपाइँ रातदिन २४ सै घन्टा जनताको सेवामा लाग्नुभयो। तपाइँको शीघ्र स्वास्थ्यलाभको कामना गर्छु।’

त्यसो त भारतमा पछिल्लो २४ घन्टाको अवधिमा १० हजार ६६७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने ३८० जनाको ज्यान गएको छ। योसँगै भारतमा संक्रमित हुनेको संख्या ३ लाख ४३ हजार ९१ पुगेको छ। जसमा १ लाख ५३ हजार १७८ मामिला अहिले पनि एक्टिभ रहेको छ भने १ लाख ८० हजार १३ जना निको भएर घर फर्किएका छन्।

भारतमा हालसम्म यो महामारीबाट ९ हजार ९ सयभन्दा बढीको ज्यान गइसकेको छ। – एजेन्सी