काठमाण्डौ । कोरोनाको दोस्रो लहरबाट अतिप्रभावित भारतको राजधानी दिल्लीका मुख्यमन्त्री अरबिन्द केजरीवालले महत्वपूर्ण घोषणा गरेका छन्। 

मुख्यमन्त्री केजरीवालले आमा–बुवाको कोरोनाका कारण मृत्यु भएका बालबालिकालाई प्रत्येक महिना भारु २ हजार ५०० का दरले भत्ता दिइने घोषणा गरेका हुन्। त्यस्ता बालबालिकाले उक्त रकम २५ वर्षको उमेरसम्म प्राप्त गर्ने पनि केजरीवालले स्पष्ट पारेका छन्। यतिमात्रै नभई बालबालिकाको पढाइ खर्चसमेत दिल्ली सरकारले व्यहोर्नेछ।

यसैगरी यदि कोरोनाबाट परिवारमा कमाउने कुनै सदस्यको मृत्यु भएमा त्यस्ता परिवार मासिक पेन्सन उपलब्ध गराइने जानकारी दिए। त्यस्ता परिवारलाई मासिक भारु २ हजार ५०० पेन्सनस्वरुप दिइने केजरीवालको भनाइ छ। 

यस्तै कोरोनाबाट मृत्यु हुनेका परिवारलाई ५० हजार भारु क्षतिपूर्तिका रुपमा दिने घोषणा पनि केजरीवालले गरेका छन्। यसका साथै रासन कार्ड भएका र नभएका परिवारलाई १० किलो चामल निःशुल्क रुपमा उपलब्ध गराइने भएको छ। – एजेन्सी