काठमाण्डौ । दुईवटा नयाँ जीवन बिमा कम्पनीले सर्वसाधारणका लागि १ अर्ब २६ करोड बराबरको साधारण सेयर जारी गर्ने भएका छन् ।

ज्योति लाइफ इन्स्योरेन्सले ६६ करोड रुपैयाँ बराबरको आइपीओ निश्कासनको प्रस्ताव साधारणसभा पारित गरिसकेको छ भने सन नेपाल लाइफ इन्स्योरेन्सले समेत ६० करोड बराबरको आइपीओ निश्कासनको प्रस्ताव निकट भविष्यमै पारित गर्दैछ ।

ज्योति लाइफको माघ १० गते सम्पन्न पहिलो वार्षिकसाधारणभाले ६६ करोड बराबरको आइपीओ निश्कासनको प्रस्ताव पारित गरिसकेको छ । 

कम्पनीको अधिकृत पुँजी ३ अर्ब रुपैयाँ र जारी पुँजी २ अर्ब २० करोड रहेको छ । जारीपूँजीको संस्थापकबाट ७० प्रतिशतले हुने रकम १ अर्ब ५४ करोड चुक्तापुँजी रहेको र कम्पनीले ६६ करोड रुपैयाँ बराबरको आइपीओ सर्वसाधारणलाई बिक्री गर्न लागेको हो ।

उता, सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले ६० करोड बराबरको आइपीओ निश्कासन लगायतका प्रस्तावसहित आगामी फागुन ४ गते वार्षिक साधारणसभा बोलाएको छ ।

यो कम्पनीले ७० प्रतिशत शेयर संस्थापक र ३० प्रतिशत साधारण शेयर अनुपात हुने गरी शेयर जारी गर्नेछ । जस अनुसार कम्पनीले ३० प्रतिशत अर्थात ६० करोड रुपैयाँ बराबरको आईपीओ निष्कासन गर्ने बताइएको छ ।