काठमाण्डौ । उपेन्द्र महतोले सेयर बिक्री गरेका कारण माछापुच्छ्रे बैंकले मात्रै करिब १३ करोड रुपैयाँ बराबरको कारोबार गरेका कारण कुल कारोबार रकम बढेको देखिए पनि नेप्से परिसूचक भने घटेको छ। 

पूँजीगत लाभकरको गणना विधिको विषयमा देखिएको अन्यौल समाधान गर्ने गरी सिडिएससीले काम सुरु गरे पनि लगानीकर्ता विश्वस्त हुन सकेका छैनन् । 

अर्कातर्फ, बिग वा फोर्स मर्जरको विषयमा नेपाल राष्ट्रबैंक आफैं अलमलमा पर्दा समेत बजारमा उत्साह छाउन सकेको छैन । राष्ट्रबैंकले परिपत्रमार्फत गरेको स्प्रेड गणनाको नयाँ विधि र कतिपय महत्वपूर्ण अनुपातमा गरेको परिवर्तनबाट बैंक तथा वित्तीय संस्थाको आम्दानी र लाभांश नै घट्ने अवस्था आएपछि संभावित लाभांश दर कम हुने आँकलनसहित अधिकांश लगानीकर्ता पर्ख र हेरको रणनीतिमा छन् । समग्रमा हेर्दा बजारका लगानीकर्ताको मनोबल उकास्ने प्रयास कतैबाट भएको छैन । यहीकारण समेत बाली पाकेर भित्र्याउने बेलामा समेत बजार निरन्तर घटिरहेको छ । 

मंगलबार समेत बजारको निरन्तरको गिरावटले निरन्तरता पायो । 

यो दिन नेप्से परिसूचक २.७८ अंकले घटेर  १२३१.०७ को विन्दूमा सीमित बन्न पुग्यो । राम्रा र बलिया कम्पनीको सेयरमा बिक्री चाप देखिएका कारण सेन्सेटिभ इण्डेक्स ०.५८ अंकले घटेको छ भने समग्र कारोबार मापक फ्लोट इण्डेक्समा ०.१६ अंकको गिरावट देखिएको छ। 

यो दिन बैंकिङ समूह १.३१ अंकले घट्यो भने होटल समूहमा २२.५२ अंक, विकास बैंक समूहमा ७.२४ अंक, जलविद्युत समूहमा १ अंक, बित्त समूहमा २.३६ अंक, निर्जीवन बिमा समूहमा ४.५१ अंक, उत्पादन तथा प्रशोधन समूहमा ७.८१ अंक, अन्य समूहमा ४.७७ अंक, माइक्रोफाइनान्स समूहमा १.४२ अंक र निर्जीवन बिमा समूहमा १९.४ अंकको गिरावट आयो । यो दिन म्युचुअलफण्ड समूह स्थिर रह्यो । 

धेरै कारोबार गर्ने कम्पनी
यो दिन बजारमा १६५ कम्पनीका १८ लाख ९६ हजार ४५४ कित्ता सेयर ४८ करोड १६ लाख २९ हजार ७६० रुपैयाँमा किनबेच भयो । 

माछापुच्छ्रे बैंकपछि लक्ष्मी बैंकले ८ करोड बढीको कारोबार गर्यो । मुक्तिनाथ विकास बैंकको १ करोड ९१ लाख बढीको संस्थापक सेयर किनबेच भएको बजारमा नेपाल बैंकले १ करोड ४५ लाख, रसुवागढी हाइड्रोपावरले १ करोड ४३ लाख, फ्रस्ट माइक्रोफाइनान्सले १ करोड १५ लाख, साञ्जेन जलविद्युतले ९६ लाख, सूर्या लाइफ इन्स्योरेन्सले ९५ लाख, इन्भेष्टमेन्ट बैंकले ८५ लाख र कृषि विकास बैंकले ७६ लाख बढीको कारोबार गरे । 

धेरै कमाउने र गुमाउने कम्पनी
यो दिन यूनाइटेड मोदी हाइड्रोपावर लिमीटेडका लगानीकर्ताले धेरै कमाए । कम्पनीको सेयर मूल्य ७.६२ अंकले बढ्यो । 

यो दिन एनएलजी इन्स्योरेन्सका लगानीकर्ताले धेरै गुमाए । कम्पनीको सेयर मूल्य ४ प्रतिशतको हाराहारीमा घट्यो ।