काठमाण्डौ । चिलिमे हाइड्रोपावर कम्पनी लिमीटेडका २ सहायक कम्पनी २ अर्ब ५१ करोड बढीको आइपीओ निश्कासनको माग गर्दै धितोपत्र बोर्ड पुगेका छन् ।

साञ्जेन जलविद्युत कम्पनी लिमीटेडले ८७ करोड ६० लाख रुपैयाँ बराबरको प्राथमिक सेयरको निश्कासन(आइपीओ)को  लागि बैशाख  १२ गते बोर्डमा आवेदन दिएको हो भने रसुवागढी हाइड्रोपावर कम्पनी लिमीटेडले बैशाख १३ गते १ अर्ब ६४ करोड २१ लख ४ हजार मूल्यको १ करोड ६४ लाख २१ हजार ४० कित्ता प्राथमिक सेयर निश्कासनको माग गर्दै आवेदन दिएको हो ।

साञ्जेनको आइपीओ निश्कासन तथा बिक्री प्रबन्धकको काम नागरिक लगानी कोषले गर्नेछ ।

साञ्जेनले कम्पनीको संस्थापक सेयर होल्डिङ कम्पनीका कर्मचारी, कर्मचारी सञ्चय कोषका सदस्य र ऋण प्रवाह गर्ने संस्थाका लागि आइपीओ जारी गर्न चाहेको हो ।

साञ्जेन जलविद्युत आयोजनाले ४२.५ मेगावाटको साञ्जेन जलविद्युत आयोजना र १४.८ मेगावाटको माथिल्लो साञ्जेन जलविद्युत आयोजना निर्माण गर्ने योजना बनाएको छ । यी दुवै आयोजना रसुवामा निर्माण गरिनेछ । यिनै आयोजना निर्माणका लागि आइपीओबाट लगानी जुटाउन खोजिएको हो ।

यो कम्पनीको मुख्य संस्थापक सेयरधनी चिलिमे  हाइड्रो र नेपाल विद्युत प्राधिकरण हुन् ।

यसैगरी, १ अर्ब ६४ करोड मूल्यको आइपीओ जारी गर्न चाहेको रसुवागढी जलविद्युत कम्पनीले चाहि बिक्री प्रबन्धकमा ४ वटा कम्पनीलाई नियुक्त गरेको छ । बिक्री प्रबन्धकहरुमा सिद्धार्थ क्यापिटल, एनआइबिएल क्यापिटल, ग्लोबल आइएमई क्यापिटल र एनसिएम मर्चेन्ट बैंकिङ रहेका छन् ।

यो कम्पनीले पनि संस्थापक सेयर होल्डिङ गर्ने कम्पनीका कर्मचारीका लागि, कर्मचारी सञ्चय कोषका सदस्य, ऋण प्रवाह गर्ने संस्था, आयोजना प्रभावित क्षेत्रका बासिन्दा र सर्वसाधारणका लागि आइपीओ जारी गर्न लागेको हो ।

यो कम्पनीले १११ मेगावाट क्षमताको रसुवागढी जलविद्युत आयोजना निर्माणको योजना बनाएको छ । यो कम्पनीमा चिलिमेको सेयर स्वामित्व ३३ प्रतिशत छ भने नेपाल विद्युत प्राधिकरणको सेयर स्वामित्व १८ प्रतिशत छ ।

यो कम्पनीले कुल निश्कासित हुने आइपीओमध्ये १० प्रतिशत आयोजना प्रभावित क्षेत्रका बासिन्दा र १५ प्रतिशत सर्वसाधारणका लागि समेत छुट्याएको छ ।