काठमाण्डौ । नेपालको सेयर बजार विचित्रको छ । सोझासिधाले बजारको लय, चाल र खेललाई हतपत बुझ्न सक्दैनन् । जस्तोसुकै प्रविधिले सुसज्जित भए पनि नेपालको सेयर बजारमा खेलाडीहरुकै बोलावाला चल्छ । खेलाडीले चाहेको खण्डमा निमेषभरमा कुनै कम्पनीको मूल्य चढाएर पोजिटिभ सर्किट लगाइदिन्छन् भने खेलाडीकै चाहनामा मिनेट होइन, मात्र केही सेकेण्डमा कुनै पनि कम्पनीको सेयरमूल्य पहिरोको गतिमा घट्न सक्छ ।

यस्ता केही घटनाक्रम हेर्दा नेपालको सेयरबजार संगठित गिरोहले सोझासिधालाई फसाउने ‘ठगीको केन्द्र’ हो कि भन्ने भान हुनसक्छ । खेलाडी र संगठित गिरोहको यस्तै हर्कतका कारण सर्वसाधारणले नेपालको सेयर बजारमा क्षणभरमै करोडौं गुमाउँछन् । यस्ता अनेकन खेलका कारण सर्वसाधारण टाट पल्टिँदा नियामक भने मूकदर्शक मात्र बन्छन् ।  

खेलाडीहरुको यस्तै हर्कत र चलखेलका कारण आइतबार अन्तिमको केही सेकेण्डमा एउटा कम्पनीको सेयरमूल्यमा तीव्र गतिमा सुनियोजित पहिरो ल्याइयो ।

सामलिङ पावर कम्पनी लिमीटेडको सेयरमूल्यमा यस्तो खेल भएको हो । यस्तो खेल बजार बन्द हुनुभन्दा मात्र केही सेकेण्ड अगाडि भएको थियो । 

आज बजार बन्द हुनै लाग्दा अर्थात २ बजेर ५९ मिनेट ५७ सेकेण्ड जाँदासम्म यो कम्पनीको सेयरमूल्य प्रतिकित्ता ६४८.९० रुपैयाँ थियो । २ बजेर ५९ मिनेट ५८ सेकेण्ड जाँदा ब्रोकर नम्बर ३८ र ४३ ले ३० र १० कित्ता मार्केट अप्सनमार्फत फाले प्रतिकित्ता ५९२ र ५९१ रुपैयाँमा । त्यसपछि बजार बन्द हुनुभन्दा २ सेकेण्ड अगाडि भएको यही खेलले यो कम्पनीको सेयरमूल्य निमेषभरमै प्रतिकित्तामै ५७ रुपैयाँ ९० पैसाले घट्यो । हेर्दाहेर्दै यो कम्पनीको सेयरमूल्य बढेको मूल्यसँग तुलनामा करिब ९ प्रतिशतले घट्न पुग्यो । 

यो खेलबाट केही गिरोहले यो कम्पनीको मूल्य बढाउन गरेको प्रयास अन्तिम केही सेकेण्डको खेलले निस्तेज मात्र भएन, घटाउने गिरोहले बजारमा कुनै पनि स्क्रिप्टलाई कतिसम्म खेलाउन सक्छ र बजारमा कस्तोसम्म खेल हुन्छ भन्ने पछिल्लो उदाहरण समेत बनिदियो ।

यो दिन सामलिङ पावरको २७ हजार ५५९ कित्ता सेयरको किनबेच भएको थियो ।

जानकारहरुका अनुसार बजारमा सर्वसाधारणको सम्पत्तिमाथि हुने यस्ता खालका खेलवाड रोक्ने विषयमा कसैले चासो दिने गरेका छैनन् । खुलेआम हुने इन्साइडर ट्रेडिङ र सर्कुलर ट्रेडिङका कतिपय घटनामा त मूकदर्शक बन्ने बजारको फ्रन्टलाइन रेगुलेटर नेप्से र रेगुलेटर सेबोनले यस्तो सम्वेदनशील विषयमा चासो दिन्छ भन्नु कोरा कल्पना मात्र हुने उनीहरु बताउँछन् ।