काठमाण्डौ । दुुग्ध विकास संस्थानको वेबसाइटमा ‘संस्थानका उद्देश्यहरु’ शीर्षकको पहिलो बुँदामै लेखिएको छ–‘ग्रामीण क्षेत्रका किसानले उत्पादन गरेको दूधको बजार सुनिश्चित गर्ने र उनीहरुलाई आफ्नो उत्पादनको न्यायोचित मूल्य दिलाउने ।’ तर, तपाईंलाई थाहा नहुन सक्छ, संस्थानले किसानबाट संकलन गरेर बजारमा दुुध पठाउँदा ब्रम्हलुट गर्छ । त्यति मात्र होइन, किसानलाई आफ्नो उत्पादनको न्यून मूल्य दिन्छ र खरीद गरेको दरभन्दा एकसय प्रतिशत बढी मूल्य लिएर उपभोक्तालाई बिक्री गर्छ । संस्थानले लामो समयदेखि जारी राखेको यस्तो किसानमारा शैलीबाट प्रताडित काभ्रे, भक्तपुर, सिन्धुपाल्चोक र काठमाण्डौका किसानहरुले आइतबार राजधानीको लैनचौरस्थि दुुग्ध विकास संस्थान घेराउ गर्दै नाराबाजी गरे । 

संस्थानको किसानमारा नीतिको विरोधमा १५ सय किसानको हस्ताक्षरसहितको ज्ञापनपत्र बुुझाउन दुुध उत्पादक किसान हकहित संघर्ष समितिको अगुवाईमा दर्जनौ किसान संस्थान परिसर पुुगेका थिए । संस्थानको मूूल गेटमै रोकिएका उनीहरुले हात–हातमा प्लेकार्डसहित प्रदर्शन गरेका थिए । प्रदर्शनका बीच संघर्ष समितिका संयोजक बासुदेव उपाध्यायले बिजशालासँग भने–‘डीडीसी(दुुग्धविकास संस्था)ले बजारमा पठाउने गुणस्तरको दुध हामी किसानबाट खरीद गर्दा प्रति लिटर ३४ रुपैयाँ मात्र दिइन्छ । तर उपभोक्तामा त्यही दुुध जाँदा प्रति लिटर ८० रुपैयाँ मूल्य राखिन्छ । यति सारो लुट र किसानमारा नीति केका लागि भनेर प्रश्न गर्न आज हामी काठमाण्डौ आएका हौ ।’

किसानहरुले १८ बुँदे मागसहितको ज्ञापनपत्र संस्थानमा बुुझाएका छन् । उनीहरुले आइतबार नै पशुपंक्षी मन्त्रालय र प्रधानमन्त्री कार्यालयमा समेत आफ्ना माग सम्बोधन गरिदिन माग गर्दै ज्ञापन बुझाए । 

किसानहरुले वर्तमान सरकार स्वदेशी दुुधजन्य उत्पादनलाई विस्थापित गर्ने षड्यन्त्रमा लागेको आरोप लगाएका छन् । उनीहरुले डीडीसीले बाहिरी आवरणमा कृषक हकहितको कुरा गर्ने, तर नियतमा विदेशी उत्पादनको पक्षपोषण गर्दै आएको दाबी समेत गरे । 

किसानहरुले आफूूहरुलाई मारेर डिडीसीका कर्मचारी मोटाएका भन्दै यो संस्थानको हालसम्मको आयव्यय सार्वजनिक गर्नुपर्ने माग गरेका छन् । यस्तै, किसानलाई उत्पादन लागतका आधारमा दुुधको उचित मूल्य दिइनुुपर्ने, किसानहरुलाई दुुध उत्पादन प्रोत्साहन अनुदान नियमित दिने व्यवस्था हुनुपर्ने, विभिन्न बाहानामा हालै गर्न खोजिएको किसानसँग दुुध खरीद गर्ने प्रक्रिया हेरफेरको प्रस्ताव खारेज हुनुपर्ने, उपभोक्ता ठगी बन्द हुनुपर्ने, दुध बिक्री र खरीदमा मूल्यको असमानता खारेज हुनुपर्ने माग गरेका छन् । यस्तै, उनीहरुले बाहिरी मुलुकबाट दुध र दुधजन्य पदार्थ आयात पूर्ण रुपमा बन्द गरिनुपर्ने, दुध उत्पादक किसानलाई परिचयपत्रको व्यवस्था हुनुपर्ने, उत्कृष्ट दुध उत्पादन किसानलाई नियमित रुपमा पुरस्कृत गरिनुपर्ने, दुध उत्पादन, प्रशोधन लगायतका तालिमको व्यवस्था हुनुपर्ने माग पनि गरिएको छ । 

यसैगरी, दुध खरीद दर निर्धारण गर्दा किसानहरुको सहभागितामा उत्पादन लागतको आधारमा तय हुनुपर्ने, प्राइभेट डेरी एशोसिएसनहरुसँग मिलेमतोमा डीडीसीले गर्ने भ्रष्टाचार र किसानमारा नीति अन्त गरिनुपर्ने, डीडीसीका अधिकारीहरुको अबाञ्छित विदेश भ्रमणमा गर्ने जथाभावी खर्चहरुको अन्त हुनुपर्ने र डीडीसीको नाफाबाट किसानलाई बोनस वितरण गरिनुपर्ने माग पनि राखिएको छ । 

आफ्ना माग पूरा नभए गत वर्ष झै मिल्क होलिडे सम्मका कार्यक्रम गर्ने किसानहरुको चेतावनी छ । उनीहरुले गत वर्ष आफ्ना माग पूरा नभएपछि ठाउँ ठाउँका सडकमा दुध पोखेर मिल्क होलिडे गरेका थिए । 

किसानका माग सम्बन्धमा प्रतिक्रिया लिन खोज्दा डीडीसीका सूचना अधिकारी ईश्वरीप्रसाद अधिकारी र महाप्रबन्धक गंगा तिम्सिना बोल्न चाहेनन् ।