काठमाण्डौ । पूँजीबजारमा पछिल्लो समय दुर्घटनाका संकेतहरु देखिन थालेका छन् । १८८१ को उच्च अंकमा पुगेको बजार पछिल्लो समय घटेसँगै इण्डेक्स र कारोबार पनि उसैगरी घट्न थालेपछि जुनसुकै बेला दुर्घटना निम्तिनसक्ने अवस्था देखिएको हो । 

सेयर विश्लेषक र अनुभवी ब्रोकरहरुका अनुसार केही अघिसम्म नेप्से इण्डेक्स घटे पनि कारोबार रकममा खासै ठूलो पहिरो गएको थिएन । दैनिकजसो डेढ अर्बको हाराहारीमा कारोबार भइरहेको थियो । इण्डेक्स घटे पनि कारोबार रकममा खासै उतारचढाव नहुँदा त्यसले बजारमा खासै ठूलो जोखिम हुँदैन थियो । तर पछिल्ला केही दिनमा इण्डेक्ससँगै कारोबार रकममा पनि पहिरो जान थालेको हो । 

केही  दिनअघिको जस्तै बजारमा मंगलबार समेत यस्तै खतराका संकेतहरु देखिए । नेप्से परिसूचक १.२६ अंकले घटे पनि कारोबार रकममा भने खासै सुधार हुन सकेन । सोमबार नेप्से परिसूचक ३९.३१ अंकले घट्दा ८६ करोड १९ लाखको सेयर कारोबार भएको थियो । यसको तुलनामा मंगलबार १.२६ अंकको झिनो गिरावटमा कारोबार रकम बढ्ने धेरैको अपेक्षा थियो । तर यो दिन १ सय ३९ कम्पनीका १४ लाख ५२ हजार २ सय ५० कित्ता सेयर ८८ करोड १९ लाख ६२ हजार रुपैयाँमा किनबेच भयो । अंकको हिसाबले कारोबार रकमको यो सुधार खासै सन्तोषजनक होइन । 

आइतबार पनि बजार परिसूचक १२.६३ अंकले घटेको थियो । यो दिन १४२ कम्पनीका १० लाख ३१ हजार ६६ कित्ता सेयर ६८ करोड ७७ लाख ५२ हजारमा किनबेच भएको थियो । 

केही अघिसम्म नेप्से इण्डेक्स घटे पनि कारोबार रकममा खासै ठूलो पहिरो गएको थिएन । दैनिकजसो डेढ अर्बको हाराहारीमा कारोबार भइरहेको थियो । इण्डेक्स घटे पनि कारोबार रकममा खासै उतारचढाव नहुँदा त्यसले बजारमा खासै ठूलो जोखिम हुँदैन थियो । तर पछिल्ला केही दिनमा इण्डेक्ससँगै कारोबार रकममा पनि पहिरो जान थालेको हो । 

त्यसअघि अघिल्लो बुधबार बजार १७.५४ अंकले बढे पनि ९९ करोड ९२ लाख ७७ हजारको मात्र कारोबार भएको थियो । अघिल्लो सोमबार ३९.१२ अंकले घटेको बजारमा १ अर्ब १९ करोडको कारोबार भएको थियो । मंगलबार २२.६४ अंकले बजार बढे पनि कारोबार रकम चाहि घटेर १ अर्ब ६ करोडमा आइपुगेको थियो ।

यसरी बजार घट्दा भन्दा बढ्दा कारोबार रकम झनै घटेको देखिन्छ । बजार विश्लेषकहरुका अनुसार बजारको घटबढ सामान्य भए पनि इण्डेक्स घटेसँगै कारोबार रकममा पहिरो जानु र बजार बढ्दा पनि कम कारोबार हुनु खतराको संकेत हो । ‘यो ट्रेन्डले बजार क्र्यास हुने संभावना पनि देखाउँछ ।’ अनुभवी ब्रोकर अञ्जनराज पौडेलले भने–‘यो सुखद संकेत होइन, यस्तो बेलामा लगानीकर्ता निकै सम्हालिन आवश्यक छ ।’ यसको अर्थ बजारमा सेयर खरीद गर्ने भन्दा बिक्री गर्नेहरुको चाप बढेको भन्ने हो । 

यस्तो रह्यो मंगलबारको बजार
मंगलबार ४ वटा समूहको परिसूचकमा सामान्य वृद्धि देखियो । सबैभन्दा बढी जलविद्युत समूह १५.२१ अंकले बढ्यो भने वाणिज्य बैंक, विकास बैंक र होटल समूह क्रमशः १.५३, ३.५९ र ४.१६ अंकले माथि उक्लिए । 

अन्य सबै समूहको सूचकमा रातो पोतियो । सबैभन्दा बढी उत्पादनमूलक समूहको सूचक ४८.८३ अंकले तल झर्यो । यस्तै, बिमा समूह ३९.३९, बित्त समूह ८.६३ र अन्य समूह ३.१८ अंकले तल झर्यो । 

मंगलबार सबैभन्दा बढी नेपाल इन्भेष्टमेन्ट बैंकको ७ करोड ७२ लाख मूल्यको सेयर किनबेच भयो । यसैगरी, नेपाल बंगलादेश बैंकको ५ करोड ४१ लाख, सिद्धार्थ बैंकको ४ करोड ५४ लाख, एभरेष्ट बैंकको ३ करोड ८३ लाखको सेयर कारोबार भयो । इन्भेष्टमेन्ट बैंकको ३ करोड ६२ लाख मूल्यको प्रोमोटर सेयर किनबेच भएको बजारमा हिमालयन जनरल इन्स्योरेन्सले २ करोड ८५ लाख, नेपाल बैंक लिमीटेडले २ करोड ४१ लाख, शिखर इन्स्योरेन्सले २ करोड २९ लाखको कारोबार गरे । मंगलबार धेरै कारोबार गर्ने १० कम्पनीको सूचिमा ८ स्थान वाणिज्य बैंकले कब्जा गरे भने २ स्थानमा इन्स्योरेन्स समूह हाबी भए । 

धेरै कमाउने र गुमाउनेहरु
बजार घटे पनि कन्काई विकास बैंक र सिद्धार्थ डेभलपमेन्ट बैंकका लगानीकर्ताले मंगलबार करिब १० प्रतिशतले सम्पत्ति बढाए ।  नवील बैंकको प्रोमोटर सेयर र राष्टिय विमा कम्पनी लिमीटेडको सेयर मूल्य पनि करिब साढे ४ प्रतिशतको हाराहारीमा वृद्धि भयो । 

मंगलबार सबैभन्दा धेरै कालिका माइक्रोक्रेडिट डेभलपमेन्ट बैंकको सेयर मूल्यमा करिब १० प्रतिशतले पहिरो गयो । रिदी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी र नेरुडे लघुवित्त विकास बैंकका लगानीकर्ताले समेत क्रमशः ६.९५ र ५.४८ प्रतिशतले गुमाउनुपर्यो ।