काठमाण्डौ । पछिल्लो समय नेपालमा जलविद्युतमा लगानीको आकर्षण बढ्दो छ । प्रचण्ड नेतृत्वको सरकारले जलविद्युुतको विकासलाई विशेष प्राथमिकतामा राखेसँगै सर्वसाधारणहरु समेत हाइडो प्रोजेक्टहरुमा लगानी गर्न लालायित भइरहेका छन् । यही क्रममा निजी क्षेत्रका दुुई जलविद्युुत आयोजनाले आयोजना प्रभावित क्षेत्रका बासिन्दा र सर्वसाधारणका लागि समेत गरी करिब ४१ करोड रुपैयाँको सेयरको प्राथमिक निश्कासन गर्ने भएका छन् । 

नेपाल धितोपत्र बोर्डका अनुसार छ्याङ्दी हाइड्रोपावर लिमीटेड र हिमालयन पावर पार्टनर पहिलो चरणमा आयोजना प्रभावित क्षेत्रका बासिन्दाका लागि सेयरको प्राथमिक निश्कासन(आइपीओ) गर्ने अनुमति पाएका छन् । लगत्तै यी दुुई कम्पनीले सर्वसाधारणका लागि समेत ठूलो परिमाणमा आइपीओ ल्याउँदैछन् । 

आयोजना प्रभावित स्थानीयलाई न्यूनतम १० प्रतिशतसम्म सेयर लगानी गर्न दिनुपर्ने बाध्यकारी अवस्था आएपछि पछिल्लो समय जलविद्युत् आयोजनाले सर्वसाधारणलाई लगानी खुला गर्न थालेका छन् ।

बोर्डका अनुसार हिमालय पार्टनर लिमीटेडले पहिलो चरणमा प्रभावित क्षेत्रका स्थानीयको लागि १० करोड बराबरको १० लाख कित्ता सेयर आइपीओ गर्ने अनुुमति पाएको छ । दोस्रो चरणमा यो कम्पनीले सर्वसाधारण र आफ्ना कर्मचारीका लागि २१ करोड ३० लाख रुपैयाँको २१ लाख ३० हजार कित्ता आइपीओ गर्नेछ । 

यो कम्पनीले लमजुङमा २७ मेगावाट क्षमताको दोर्दी हाइड्रोपावर निर्माण गर्न लागेको छ । यो आयोजना कुल ४ अर्ब २३ करोड लागतमा निर्माण हुन लागेको हो । यही आयोजनाका लागि कम्पनीले सर्वसाधारण र आयोजना प्रभावित क्षेत्रका बासिन्दाबाट लगानी जुटाउने उद्देश्यले आइपीओ गर्ने भएको हो । 

यो आयोजनाका लागि कम्पनी र विद्युत प्राधिकरणबीच विद्युत् खरिद सम्झौता सम्पन्न भइसकेको छ । यो कम्पनीको आइपीओलाई इक्रा नेपालले फोर प्लसको ग्रेड प्रदान गरेको छ । 

यो कम्पनीमा गैरआवासीय नेपालीहरुको संस्था एनआरएन इन्भेष्टमेन्ट कम्पनीको ५१ प्रतिशत, आइएमइ ग्रुप र  वल्र्डवाइड इन्भेष्टमेन्टमा आवद्धहरुको ९.९५ प्रतिशत, उषा इन्भेष्टमेन्ट प्रालिको ६.६४ प्रतिशत, हाथवे इन्भेष्टमेन्ट कम्पनीको ३.६३, बैंकर तथा व्यवसायी चन्द्रप्रसाद ढकालको १०.२९ प्रतिशत, उत्तमकुमार नेपालको ६.१२ प्रतिशत सेयर लगानी छ । सर्वसाधारणका लागि सेयर खुलाएर लगानी जुटाएपछि कम्पनीमा संस्थापक र सर्वसाधारण सेयरधनीको सेयर संरचना ७०ः३० कायम हुने बताइएको छ । 

यसैबीच, छ्याङ्दी हाइड्रोपावरले चाहि २ लाख ६० हजार कित्ता सेयर जारी गर्नेछ । पहिलो चरणमा २ करोड ६० लाख मूल्यको आइपीओ आयोजना प्रभावित क्षेत्र लमजुङका बासिन्दाका लागि हो । कम्पनीले यसअघि लमजुङमै २ मेगावाटको छ्याङदी खोला साना जलविद्युत् आयोजना निर्माण गरी संचालनमा ल्याइसकेको छ । कम्पनीले ४ मेगावाटको माथिल्लो छ्याङदी खोला साना जलविद्युत् आयोजना निर्माणको लागि सेयर जारी गर्ने भएको हो । यो कम्पनीले पनि दोश्रो चरणमा ७ करोड मूल्यको ७ लाख कित्ता सेयर सर्वसाधारणका लागि आइपीओ गर्नेछ । 

पूर्बी लमजुङको फलेनी र बन्सार गाविसको बीच भएर बग्ने छन्दी खोलामा निर्माण गरिएको यो आयोजना ४.४ मेगावाटको राँधी खोलापछि तोकिएकै समयमा सकिने दोस्रो आयोजना हो । स्वदेशी लगानीको यो आयोजना र नेपाल विद्युत प्राधिकरण बीच सुख्खायाममा ८ रुपंैयाँ ४० पैसा र बर्षायाममा ४ रुपैयाँ ८० पैसा दिने गरी विद्युत खरिद सम्झौता(पिपिए) भएको थियो । आयोजना निर्माणका लागि ७० प्रतिशत बैंकको कर्जा र ३० प्रतिशत प्रवद्र्धकको स्वपुँजी लगानी भएको हो ।

दुवै जलविद्युत आयोजनाको आइपीओ निश्कासन तथा व्यवस्थापनमा ग्लोबल आइएमई क्यापिटलले बिक्री प्रबन्धकको रुपमा काम गर्ने बताइएको छ ।