-ताराप्रसाद फूल्लेल
नेपाली कांग्रेस जस्तो प्रजातान्त्रिक पार्टीको सरकार आएपछि स्वभाविक रूपमा देशको अर्थतन्त्रमा पुनर्जागरण आई अर्थतन्त्र थप चलायमान हुने कुरामा दुईमत नहोला । नेपाली कांग्रेसले सधैं नै यस राष्ट्रलाई राजनीतिक, आर्थिक, सामाजिक, सांस्कृतिक आधुनिकीकरणको नेतृत्व दिँदै आएको छ ।

२०१५ सालमा प्रथम निर्वाचित सरकारको नेतृत्व गर्दा यसले नेपालको अर्थतन्त्रको सबैभन्दा ठूलो हिस्सा ओगटेको कृषि क्षेत्रलाई प्राथमिकतामा राखी ल्याइएका आर्थिक नीतिहरूले देशको अर्थतन्त्रमा दूरगामी असर पर्यो । आर्थिक स्वतन्त्रता र मानव जीवनको सबैभन्दा महत्वपूर्ण पाटो नै स्वतन्त्रता भएको हुँदा स्वतन्त्र रूपमा आफ्नो गतिमा हिँडाउन सफल विशेष गरी २०४६ सालको जनआन्दोलनपछिको नेपाली कांग्रेसको सरकारले अवलम्बन गरेका आर्थिक नीति र त्यस समयमा नेपालका उद्योगधन्दा, कलकारखाना, बैंक तथा वित्तीय संस्थाको स्थापना र वृहत्तर विकास नै यसको उत्कृष्ट प्रमाण हो ।

नेपालको पुँजीबजार पनि स्वतन्त्र विचरण गर्न मन पराउने क्षेत्र भएको हुँदा देउवा सरकारको पालामा नेपालको पुँजीबजारले अभूतपूर्व विकास गर्न सक्नेतर्फ आशावादी हुन सकिन्छ ।

शेयर बजारले नयाँ लगानीकर्तालाई तानिरहेको छ र उनीहरुले अवसर सिर्जना गरिरहेका छन् । दिनानुदिन बढ्दो कारोवार रकम र लगानीकर्ताको उत्साहजनक सहभागिताले सम्भवतः आगामी महिनाहरुमा यसले बजार विस्तारको पुराना रेकर्ड तोड्न सक्छ भन्ने कुरामा हामी आशावादी छौं । 

विगतका कांग्रेस नेतृत्वका सरकारहरुले पूँजीबजारमैत्रीको पहिचान बनाएकोले देउवा नेतृत्वमा सरकार बनेपछि यसले लगानीकर्तामा उत्साह जगाउने देखिन्छ । 

(सेयर लगानीकर्तासंघका उपाध्यक्ष फूल्लेलसँग गरिएको कुराकानीमा आधारित)