काठमाण्डौ । दोभान हाइड्रोपावर लिमिटेडले २२ करोड ८० लाख रुपैयाँबराबरको आईपीओ ल्याउने भएको छ। 

कम्पनीले आफ्नो जारी पुँजी ७६ करोड रुपैयाँको ३० प्रतिशतले हुन आउने रकमबराबरको आईपीओ ल्याउन लागेको हो। जसअनुसार कम्पनीले १०० अंकित दरका कुल २२ लाख ८० हजार कित्ता आईपीओ बिक्री गर्नेछ। 

यो आईपीओ आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा, नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृति प्राप्त गरी विदेशमा बसी रोजगारी गरिरहेका नेपाली नागरिक, सर्वसाधारण तथा संस्थामा कार्यरत कामदार र कर्मचारीलाई जारी गरिने कम्पनीले जनाएको छ। 

कम्पनीले सोलुखुम्बु जिल्लाको जुनवेशी खोलाको पानिको बहाव सदुपयोग हुने गरी ५.२ मे.वा. क्षमताको जुनवेशी जलविद्युत आयोजना निर्माण गरिरहेको छ। सोही आयोजनामा आईपीओबाट प्राप्त रकम लगानी गरिने कम्पनीले जनाएको छ। 

यसैबीच कम्पनीले सानिमा क्यापिटल लिमिटेडलाई आईपीओ निष्कासन तथा बिक्रि प्रबन्धकका रुपमा नियुक्त गरेको छ। यससम्बन्धी सम्झौतापत्रमा सानिमा क्यापिटलका तर्फबाट प्रमुख कार्यकारी अधिकृत भीष्मराज चालिसे र दोभान हाइड्रोपावरका तर्फबाट प्रवन्ध सञ्चालक पुरन्जन राईले हस्ताक्षर गरेका छन्। 

यस आयोजनाबाट उत्पादन हुने विद्युतीय ऊर्जालाई नेपाल विद्युत प्राधिकरणको १३२ केभी तिङ्गला लमाने सबस्टेसनमार्फत राष्ट्रिय प्रशारण प्रणालीमा जोड्ने योजना रहेको छ। कम्पनीद्वारा निर्माणाधीन उक्त आयोजनाको निर्माण प्रगति हालसम्म करिब ७५ प्रतिशतको हाराहारीमा रहेको छ।