काठमाण्डौ । दोल्ती पावर र भूगोल इनर्जी डेभलपमेन्ट कम्पनीको सेयर बिहीबारबाट कारोबारमा आउने भएको छ। 

नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा दोल्ती पावर र भूगोल इनर्जीको आईपीओ आज नेप्सेमा सूचीकृत भएको हो। कुनै पनि कम्पनीको सेयर नेप्सेमा सूचीकृत भएको दोस्रो अर्थात भोलिपल्टबाट कारोबारमा आउँछ। यसको अर्थ यी दुवै कम्पनीको सेयर भोलि बिहीबारबाट कारोबारमा आउनेछ। 

नेप्सेमा दोल्ती पावरको १०० अंकित दरका कुल ५३ लाख ६४ हजार ८६० कित्ता सेयर सूचीकृत भएको छ। जसमा संस्थापक समूहको ३७ लाख ५५ हजार ४०२ कित्ता र सर्वसाधारणको १६ लाख ९ हजार ४५८ कित्ता छन्। 

नेप्सेले यो कम्पनीलाई ‘डीओएलटीआई’ कारोबार संकेत प्रदान गरेको छ। नेप्सेले पहिलो कारोबारका लागि यो कम्पनीलाई प्रतिकित्ता न्यूनतम ८७ रुपैयाँ र अधिकतममा २६१ रुपैयाँ ओपनिङ रेन्ज तोकेको छ। 

यसैगरी नेप्सेमा भूगोल इनर्जीको १०० अंकित दरका कुल ५४ लाख ४० हजार ५३४ कित्ता सेयर सूचीकृत भएको छ। जसमा संस्थापक समूहको ३८ लाख ८ हजार ३७४ कित्ता र सर्वसाधारण समूहको १६ लाख ३२ हजार १६० कित्ता सेयर छन्। 

यो कम्पनीलाई नेप्सेले ‘बीईडीसी’ कारोबार संकेत प्रदान गरेको छ। पहिलो कारोबारका लागि भने यो कम्पनीले नेप्सेबाट प्रतिकित्ता न्यूनतम ६७.६३ रुपैयाँ र अधिकतममा २०२.८९ रुपैयाँ ओपनिङ रेन्ज पाएको छ। 

अब भोलि स्पेसल प्रि–ओपन सेसनमा नेप्सेले तोकेको यी दुवै कम्पनीको सेयर किनबेच भएमा नियमित समयका लागि कारोबारमा आउनेछन्।