काठमाण्डौ । बजार परिसूचक ५ प्रतिशतले वृद्धि भएपछि दोश्रो सर्किट ब्रेकर लगाउँदै नेपाल स्टक एक्सचेञ्जले आजको कारोबार बन्द गरेको छ । 

१२ बजेर ५७ मिनेट जाँदा समग्र बजार ४ प्रतिशतले बढेर पहिलो सर्किट ब्रेकर लगाइएको थियो । १ः२७ मा खुलेको बजारमा क्षणभरमै ५ प्रतिशतको वृद्धि देखिएपछि दोश्रो सर्किट ब्रेकर लगाई आइतबारको कारोबार नै बन्द गरिएको हो । नेप्से परिसूचक ७९.४७ अंकले बढेर १६६७.११ अंकको उचाईमा पुुगेको छ । 

नेपाल स्टक एक्सचेञ्जले बजार सोमबार निर्धारित समयमा खुुल्ने प्रष्ट्याएको छ । 

दोश्रो सर्किट ब्रेकर लगाई बजार बन्द हुँदै गर्दा बिमा समूहको सूचकले छलांग मारेको छ । यो समूहको सूचक मात्र ९.३३ प्रतिशतले वृद्धि भएको छ । वाणिज्य बैंक र विकास बैंक ५ प्रतिशतको हाराहारीमा बढेका छन् । बाँकी सबै समूहको सूचकमा हरियाली छाएको छ । आइतबार ९४ करोड ३७ लाख बढीको सेयर किनबेच भयो ।