काठमाण्डौ । निकै ठूलो विवादमा परेको भए पनि हिमालयन रि इन्स्योरेन्सको आईपीओले सुखद ओपनिङ गरिरहेको छ । 

कम्पनीले प्रिमियम दरमा सोमबारदेखि वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि आईपीओ निश्कासन गरेको छ ।कुल ३० लाख कित्ता आईपीओको बिक्री खुल्ला गरिएकोमा दोस्रो  दिन मंगलबारसम्ममा ८ हजार ५६३ जना आवेदकले  ७ लाख ३४  हजार १७०  कित्ता खरिदका लागि आवेदन दिएका छन् । यो भनेको  कुल मागको करिब २५ प्रतिशत हो । 

सिडीएसीकाअनुसार दोस्रो दिन साँझ ५ बजेसम्ममा १ अर्ब ५१ करोड २३ लाख रुपैयाँबढीको खरिद आवेदन परेको छ । कम्पनीले प्रतिसेयर १०० रुपैयाँमा प्रिमियम बापत १०६ रुपैयाँ थप गरी प्रतिकित्ता २०६ रुपैयाँका दरले साधारण सेयरको निश्कासन खुलाएको छ । पहिलो चरणमा खुलाइएको निश्कासनमा वैदेशिक रोजगारीमा रहेका नेपालीहरुले मात्र आवेदन दिन पाउने छन् । 
धितोपत्र निश्कासन तथा बिक्री प्रबन्धक एनएमबी क्यापिटलका अनुसार विदेशमा काम गर्ने नेपालीहरुले कम्पनीको आईपीओमा न्यूनतम १० कित्तादेखि अधिकतम ३ लाख कित्तासम्मका लागि आवेदन दिन पाउनेछन् । 

आईपीओ खरीदका लागि मंसिर १८ गतेसम्म आवेदन दिन सकिने व्यवस्था छ । यो कम्पनीलाई धितोपत्र बोर्डका अध्यक्ष रमेशकुमार हमालको सेटिङमा प्रिमियममा आईपीओ निश्कासन गर्न दिइएको विषय निकै विवादास्पद छ ।

कम्पनीको अवस्था खासै सन्तोषजनक नभए पनि यसका प्रमोटरहरुलाई सर्वसाधारणबाट पैसा संकलन गर्ने अवसर प्रदान गर्न अध्यक्ष हमालले गडबडीपूर्ण ढंगले स्वार्थप्रेरित निर्णय गरेको विषयमा विवाद हुँदै आएको छ । 

यो कम्पनीको आईपीओ रोक्न केही समयअघि संघीय संसदको अर्थ समितिले निर्देशन दिए पनि पछि पुनः सेटिङ मिलाइएपछि निश्कासन खुला गरिएको हो ।