काठमाण्डौ । कानूनको नजरमा दोषी करार व्यक्तिहरु नै राज्यका लागि प्यारा हुने रोग नेपालीहरुका लागि पुरानै हो । अझ धर्मगुरुहरुको हकमा भने यी कुरा बढी लागू हुन्छन् । कानूनले दोषी ठाने पनि धर्मको आडमा त्यस्ता गुरुहरु आफूलाई सानोतिनो भगवान नै ठान्छन् र राज्य संचालक तथा उपल्लो स्तरका सुरक्षा निकाय तथा कर्मचारी तन्त्रका नाइकेहरु समेत उनीहरुकै पक्षपोषण र चाकडी गर्नतर्फ लाग्छन् । 

यही प्रवृतिका कारण पछिल्लो समय धेरैवटा विवादमा तानिए पनि सुनसरीको बराहक्षेत्रको आश्रममा बस्ने आफूलाई कहिले सिद्धबाबा त  कहिले कृष्णदास महाराज भन्न मन पराउने कृष्णबहादुर गिरीमाथि कुनै कारबाही हुन सकेको छैन । उनी कारबाहीमा पर्नैपर्ने केही घटनाहरु सप्रमाण बाहिर आए पनि राज्यले उनीमाथि कारबाहीको कैंची चलाउन सकेको छैन । बरु उल्टो राज्यको सुरक्षा र सुविधामा थप वृद्धि गरेको भेटिएको छ । 

कृष्णदासले विभिन्न मितिमा सोलुखुम्बु र सुनसरीबाट दुईवटा नागरिकता लिएका र सो आधारमा दुवैलाई सक्रिय बनाई जग्गाजमीन जोड्नुका साथै ती नामहरुबाट बैंक खाता समेत संचालन गरेका सप्रमाण भेटिएको थियो । विभिन्न संचारमाध्यममा उनले दोहोरो नेपाली नागरिकता लिएका विषय सप्रमाण उजागर भएको थियो । तर हालसम्म दोहोरो नागरिकता लिएका उनीमाथि कारबाही त के सामान्य छानबिन समेत भएको छैन । सुनसरी प्रशासनले उनको नागरिकताको बिषयमा छानबिन गर्ने बताए पनि सो कुरा मिडियाहरुको आलोचनाबाट बच्न मात्र भनिएको रहेछ भन्ने कुरा पुष्टि भइसकेको छ । 

दोहोरो नागरिकता लिएर खुलेआम हिँडिरहेका र दुवैलाई कारोबारमा प्रयोग गरिरहेका कृष्णदासले नेपाल र भारत दुवै ठाउँबाट पासपोर्ट समेत बनाएका खुलिसकेको छ । यो बिषयमा समेत कुनै छानबिन भएको छैन । 

यसैगरी, कृष्णदास महाराज नामका कृष्णबहादुर गिरीले आफ्ना साख्खै भाईंलाई अंशमा ठगी गरेका र भुक्तानीको नाममा बाउन्स चेक दिएर ठगी गरेका भन्दै काठमाण्डौ जिल्ला अदालतमा चेक अनादर मुद्धा विचाराधीन अवस्थामै छ । यस्तो मुद्धा लाग्ने व्यक्ति हिन्दू धर्मको गुरु बन्न समेत नपाइने धार्मिक ग्रन्थहरुमा लेखिएको छ । तर मुद्धा मामिला खेपेर र अनेक बिषयमा विवादमा तानिँदा समेत कृष्णदासलाई राज्यले पोस्न छाडेको छैन । 

पछिल्लो समय कृष्णदासले वैदेशिक रोजगारीमा युवा लैजाने(मानव तस्करीको काम) पनि गर्ने गरेका संगीन आरोप समेत लागेको थियो । त्यसको प्रमाणसहित समाचारहरु प्रकाशन र प्रसारण भएका थिए । कतिपय पीडितले अझै पनि विदेश जान भनेर उनलाई बुझाएको रकम फिर्ता नपाएका गुनासाहरु समेत आएका थिए । यो बिषयमा समेत अझै कुनै छानबिन भएको छैन । 

अर्कोतर्फ कृष्णदास पनि नक्कली डाक्टर रहेका केही दिनअघि खुलासा भएको थियो । उनले आफ्नो नाम अगाडि डा. लेख्ने गरे पनि त्यसको आधिकारिता कतै छैन । उनले भक्तजन तथा दुनियाँलाई बेवकुफ बनाउनका लागि मात्रै आफ्नो नाम अगाडि डा. लेख्ने गरेका समेत खुलिसकेको छ । उनले जुन विश्वविद्यालयबाट आफूले डाक्टरी गरेको दाबी गरेका छन्, सो विश्वविद्यालयमा हालसम्म उनको पाइला नै नपरेको सनसनीपूर्ण खुलासा समेत यसअघि नै भइसकेको छ । 

कारबाहीको साटो पुरस्कार ?
कृष्णदासले आफ्ना भक्तले दिएका भन्दै भारतीय नम्बर प्लेटको गाडी विगत केही वर्षदेखि प्रयोगमा ल्याइरहेका छन् । यो सम्बन्धी समेत खुलासा भएको थियो । उनले सो गाडी शंकास्पद गतिविधिमा समेत प्रयोग गर्ने गरेका आरोप समेत लागेको थियो । उनले सो गाडीमार्फत जडीबुटीसमेत ओसारपोसार गर्ने गरेको आरोपसहितका समाचार यसअघि विभिन्न संचारमाध्यममा प्रकाशन र प्रसारण भइसकेको छ । उनले बिना भन्सार जाँचपास र कर समेत नतिरी गाडी कुदाइरहेका विषय समेत सार्वजनिक भएको थियो । भारतीय नम्बर प्लेटको गाडी भन्सार नै नतिरी प्रयोग भइरहेको बिषयमा छानबिन गर्नुको साटो हालै नेपाल सरकारले उनलाई सरकारी नम्बर प्लेटको गाडी उपहार दिएको खुलेको छ । हाल उनले नेपाल सरकारले टक्र्याएको र एक भक्तजनले टक्र्याएका भारतीय नम्बर प्लेटको दुवै गाडी प्रयोग गरिरहेका स्रोतले बताएको छ । 

यति मात्र होइन, कृष्णदासको सुरक्षाका लागि भन्दै नेपाल सरकारले अंगरक्षकको रुपमा प्रहरी समेत उपलब्ध गराएको छ । तर यति धेरै विवादमा आएका व्यक्तिको बिषयमा छानबिन गर्न छाडेर उसलाई  सुरक्षाकर्मी र राज्यको गाडी सुविधा समेत किन दिइएको हो भन्ने बिषयको जवाफ कोहीसँग छैन । 

कृष्णदासबाट प्रताडितहरुले उनको बिषयमा उठेका विवादहरुमाथि राज्यले छानबिन गर्नुपर्ने र दोषी भए कारबाही गर्नु पर्ने माग उठाएका छन् । उनीहरुले कृष्णदासले बिना अक्सिजन भूसमाधिमा बसेका भन्ने बिषयलाई समेत वैज्ञानिक ढंगले छानबिन गर्नुपर्ने माग उठाएका छन् । 

आरोपित कृष्णदासले भने आफ्ना विरोधीहरुले नियोजित रुपमा आफूमाथि प्रहार गरिरहेका दाबी गरेका छन् । उनले आफू कुनै पनि गैरकानूनी काममा संलग्न भएको देखिए कानून अनुसार कारबाही भोग्न तयार रहेको बताए ।