काठमाण्डौ । साताको तेस्रो कारोबार दिन मंगलबार बजार दोहोरो अंकले ओरालो लागेको छ।
बजार आज १७.५६ अंकले घटेको हो। योसँगै नेप्से परिसूचक १९५८.७२ को विन्दुमा बन्द भएको छ। राम्रा र बलिया कम्पनीको सूचक सेन्सेटिभ इन्डेक्स पनि ३.६६ अंकले घटेर ३७४.३९ को विन्दुमा झरेको छ।
आज बजार घट्नुमा बजार जानकार उपेन्द्र पाठक भन्छन्, ‘नियमनकारी निकायको हचुवा अभिव्यक्तिले घटको हो । उनी अगाडि थप्छन्, ‘पूँजीबजारलाई हल्का रुपमा लिइएकोले बजारमा यसको प्रभाव परेको हो, अर्थमन्त्रीले नै १२ करोडको क्यापको विषयमा गभर्नरले नै मानेन् भन्ने जस्ता अभिव्यक्ति दिए ।लगानीकर्तालाई दसैँ अघि नै क्यापको हेरफेर हुने भनेर आसैआसमा राखियो, अहिले फेरि अध्ययन समिति बनाइदैछ भन्ने सुनिन्छ । ’
पाठकले प्रतिप्रश्न गर्दै भने, ‘क्याप लगाउँदा अध्धयन समिति चाहिएन, तर हटाउँदा भने किन अध्ययन समिति चाहियो ? यो भनेको नियामनकारी निकायले लगानीकर्तालाई झुलाउने काम मात्रै भयो । ’
अर्का बजार जानकार दामोदर गजुरेल आज बजार घट्नुमा दुई/ तीन वटा कारण हुन सक्ने बताउँछन् । उनी भन्छन्, ‘पहिलो भनेको नियमनकारी निकायले नीति परिवर्तन गर्नमा ढिलाई गर्दा लगानीकर्ता उदासिन भए । दोस्रो भनेको चाडपर्वको पनि बजारमा प्रभाव परेको छ नै । र तेस्रो भनेको बजारमा अहिले असोज मसान्तको प्रभाव परेको छ । प्राविधिक रुपमा पनि आज १ हजार ९६० बाट तल झरेर लोअर लो बनाएको छ । बोलिंगर ब्यान्डको पनि मध्यब्यान्डबाट तल खसेको छ । यद्यपि भोलुम हेर्दा भने लगानीकर्ताले घटेर सेयर बिक्री गर्न नचाहेको देखिन्छ । शुक्रबारसम्ममा लगानीकर्ताहरु केहि न केहि परिवर्तन आउने आशामा रहेको देखिन्छ । ’
आज नेप्से उपसमूहमा रहेका १३ वटा समूहमै रातो पोतिएको छ।
यो दिन ट्रेडिंग समूह सर्वाधिक १.४७ प्रतिशतले ओरालो लागेको छ। वित्त समूह १.२७ प्रतिशतले घट्दा बैंकिङ समूहमा ०.६१ प्रतिशत, विकास बैंक समूहमा १.२२ प्रतिशत, होटेल तथा पर्यटन समूहमा १.२३ प्रतिशत, लगानी समूहमा ०.९३ प्रतिशत, जीवन बीमा समूहमा ०.८२ प्रतिशत, उत्पादन तथा प्रशोधन समूहमा ०.७२ प्रतिशत, लघुवित्त समूहमा ०.८५ प्रतिशत, म्युचुअल फन्ड समूहमा ०.८० प्रतिशत, निर्जीवन बीमा समूहमा ०.६९ प्रतिशत, अन्य समूहमा १.०५ प्रतिशत गिरावट आएको छ।
धेरै कारोबार गर्ने कम्पनीहरु
आज नेप्से सूचीकृतमध्ये २८१ कम्पनीका ३९ लाख ६५ हजार ९१७ कित्ता सेयर १ अर्ब १९ करोड ९१ लाख १ हजार ३२४ रुपैयाँमा किनबेच भएका छन्। यो दिन सिटिजन नेपाल लाइफको सर्वाधिक ५ करोड ५९ लाख रुपैयाँ बढीको कारोबार भएको छ। एनआईसी एसिया बैंकको ५ करोड ३० लाख रुपैयाँभन्दा बढीको कारोबार भएको छ ।
आज रिलायबल नेपाल लाइफको ३ करोड ७२ लाख रुपैयाँ, शिवम सिमेन्टको ३ करोड ६८ लाख रुपैयाँ, सन नेपाल लाइफ इन्स्योरेन्सको ३ करोड १७ भन्दा बढीको कारोबार भएको छ ।
धेरै कमाउने र धेरै गुमाउने
आज समता घरेलु लघुवित्त वित्तीय संस्था र घलेम्दी हाइड्रोपावरका सेयरधनीहरु मालामाल भए। जसमा समताको सेयरमूल्य ७.९१ प्रतिशत र घलेम्दी हाइड्रोपावरको सेयरमूल्य ७.८१ प्रतिशतले बृद्धि भएको छ ।
यो दिन सामुदायिक लघुवित्तका सेयरधनीहरुले सर्वाधिक गुमाए। यो कम्पनीको सेयरभाउमा ७.५४ प्रतिशतले गिरावट आएको छ ।
त्यसैगरी सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथ स्किमको सेयरमूल्य ७.०८ प्रतिशतले घटेको छ ।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago