काठमाण्डौ । साताको पहिलो कारोबार दिन आइतबार नेप्से परिसूचक दोेहोरो अंकले घटेको छ । 

आर्थिक वर्षको अन्तिम महिना असारमा प्रफिट बुक गरी वर्षभरिका लागि लिइने प्रफिट टार्गेट पूरा गर्नुपर्ने अवस्था, बैंकहरुमा तरलताको अभाव भई सहजै ऋण प्रवाह गर्न नसक्ने अवस्था र मार्जिन लोनको ब्याजदर नघटेको अवस्थाका कारण बजार निरन्तर घटिरहेको हो । 

योसँगै कतिपय लगानीकर्ता बजेटले गरेको बजार विकास र विस्तारको नीतिलाई मौद्रिक नीतिले कसरी समेट्छ भन्ने विषयमा पर्ख र हेरको रणनीतिमा छन् । यसले समेत बजारमा खरीद चाप बढाउन सकेको देखिन्न। 

धितोपत्र बोर्डले सम्पत्ति शुद्धिकरण निवारण ऐनको विषयमा निर्देशिका तयार गरी साउन १ गतेदेखि कडाईपूर्वक लागू हुने जानकारी दिएपछि यसले समेत कतिपय लगानीकर्ता तर्सिएका छन् । सम्पत्ति शुद्धिकरणको छानबिनमा परिने डरले लगानीकर्ताले सेयरको बिक्री बढाएका समेत कतिपयको तर्क छ । 

नेपालको सेयर बजारमा विगत लामो समयदेखि कतिपयले डमी लगानीकर्तामार्फत शंकास्पद लगानी गर्दै आएका छन् । सम्पत्ति शुद्धिकरण ऐनले यस्तो लगानीलाई कस्ने भएपछि यसको त्रासले समेत बजारमा नकारात्मक प्रभाव परेको हुनसक्छ । 

 

यी विविध कारणले निरन्तर घटिरहेको बजारमा गत साताको अन्तिम कारोबार दिन सामान्य सुधार भए पनि यो साताको ओपनिङ निराश ढंगले भएको हो । 

नेप्से परिसूचक १०.०१ अंकले घटेर १२५४.३५ को विन्दूमा समेटिएको छ । 

राम्रा र बलिया कम्पनीमा बिक्री चाप देखिएका कारण सेन्सेटिभ इण्डेक्स २.०१ अंकले घटेको छ भने समग्र कारोबार मापक फ्लोट इण्डेक्समा ०.६९ अंकको गिरावट आएको छ । 

विकास बैंक, बित्त र म्युचुअल फण्ड समूहका सूचकमा सामान्य बढोत्तरी भए पनि बाँकी समूहको सूचकमा रातो पोतिएको छ । 

विकास बैंक समूह १.५१ अंकले बढेको छ भने बित्त समूह ०.०४ र म्युचुअल फण्ड समूह ०.०३ अंकले बढेका छन् । 

बैंकिङ समूह ६.९२ अंकले बढेको यो दिन होटल समूहमा १४.६८ अंक, जलविद्युत समूहमा १३.३३ अंक, निर्जीवन बिमा समूहमा ८५.२७ अंक, जीवन बिमा समूहमा ७३.८८ अंक, उत्पादनमूलक समूहमा २९.१ अंक, माइक्रोफाइनान्स समूहमा १५.०५ अंक र अन्य समूहमा ७.९६ अंकको गिरावट आएको छ । 

धेरै कारोबार गर्ने कम्पनी
यो दिन बजारमा १७२ कम्पनीका १५ लाख ७५ हजार ३४० कित्ता सेयर ४८ करोड १८ लाख ५९ हजार ७४३ रुपैयाँमा किनबेच भएको छ । 
सबैभन्दा बढी लक्ष्मी बैंकले ४ करोड १० लाख बढीको कारोबार गरेको छ ।

यस्तै, डिप्रोक्स लघुवित्तले २ करोड ३२ लाख, चिलिमे हाइड्रोले २ करोड २८ लाख बढीको कारोबार गरेका छन् । 

सिभिल बैंक लिमीटेडको २ करोड २३ लाख बढीको संस्थापक सेयर किनबेच भएको बजारमा नेपाल बैंकले पनि २ करोड २३ लाख बढीको कारोबार गरेको छ । 

नेपाल इन्भेष्टमेन्ट बैंकको १ करोड ९७ लाख बढीको संस्थापक सेयर किनबेच भएको बजारमा प्रभू बैंकले १ करोड ७९ लाख, सिद्धार्थ बैंकले १ करोड ७४ लाख, शिवम सिमेन्टले १ करोड ७१ लाख बढीको कारोबार गरेका छन् ।

धेरै कमाउने र गुमाउने कम्पनी
यो दिन बजारमा दुई माइक्रोफाइनान्स कम्पनीको सेयरमा उछाल आई पोजिटिभ सर्किट लागेको छ । 

गुराँस लघुवित्त वित्तीय संस्था र गणपति माइक्रोफाइनान्सको मूल्यमा पोजिटिभ सर्किट लागेको हो । दुवै कम्पनीको सेयर मूल्य १० प्रतिशतको हाराहारीमा बढ्यो । 

जनउत्थान सामुदायिक लघुवित्त विकास बैंकका सेयरधनीले समेत ९ प्रतिशतको हाराहारीमा सम्पत्ति कमाए । 

यो दिन स्वदेशी लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले धेरै गुमाए । यो कम्पनीको सेयर मूल्यमा ६.५५ प्रतिशतको गिरावट आयो ।