काठमाण्डौ । साताको पहिलो कारोबार दिन आइतबार बजारमा दोहोरो अंकको करेक्सन भए पनि तीनवटा नयाँ कीर्तिमान बनेको छ ।
यो दिन नेप्से परिसूचक ४०.८२ अंकको करेक्सनका साथ १५९१.३६ को विन्दूमा बन्द भयो ।
दिनभर उतारचढावको पिङ खेलेको बजारमा आएको करेक्सनलाई जानकारहरुले ‘स्वभाविक’ भनेका छन् । यसले बजारलाई थप बलियो, भरपर्दो र स्थायी बनाउने भन्दै विश्लेषकहरुले एकदिनकै करेक्सनबाट नअत्तालिन लगानीकर्ताहरुमा आह्वान गरेका छन् ।
बजारमा उच्च अंकको करेक्सन आए पनि आइतबार समेत तीनवटा नयाँ कीर्तिमान कायम भएका छन् ।
यो दिन पनि बजारमा कारोबार रकमले इतिहास रचेको छ । यो दिन ४ अर्ब ८४ करोड ७४ लाख बढीको सेयर कारोबार भएको छ ।
यस्तै, एकैदिन ३९ हजार २८९ वटा कारोबारको नयाँ कीर्तिमान समेत कायम भएको छ ।
यसैगरी, एकैदिन १ करोड २५ लाख १७ हजार २१७ कित्ता सेयर कारोबार भएको कीर्तिमान समेत कायम भएको छ ।
कीर्तिमान कायम गर्दै बजार अगाडि बढेको, कारोबार रकम, संख्या लगायतले बलियो साथ दिएका कारण समेत प्राकृतिक करेक्सनबाट अत्तालिन नहुने जानकार बताउँछन् । ‘बजार लगातार एउटै गतिमा बढिरहँदा दुर्घटनाको संभावना हुन्छ ।’ विश्लेषकहरु भन्छन्–‘करेक्सन हुँदै गरेको बजारले सुरक्षित यात्रा गर्न सक्छ । यसकारण आइतबारको करेक्सनले बजारको स्थायीत्वका लागि राम्रो काम गरेको छ ।’
जानकार तथा विश्लेषकले बजार करेक्सन हुँदा बुल रनमा लगानी गर्न छुटेकाहरुले लगानीको उपयुक्त अवसर पाउने बताउँछन् । यस्तो बेलालाई उनीहरुले ‘बुल रन’ चलिरहेको सेयर बजारमा प्रवेश गर्ने ‘सबैभन्दा उपयुक्त अवसर’ पनि भन्ने गरेका छन् ।
तरलताको अवस्था सहजै हुँदै गएको छ । बैंकहरुले प्रवाह गर्ने ब्याजदर घटिरहेको छ । सेयरधितो कर्जा सहजै पाउने अवस्था रहेको छ । धितोपत्र बोर्डको सकारात्मक काम र कदमका कारण बजारमा लगानीको माहौल सिर्जना भएको छ । अर्थमन्त्रालय समेत पछिल्लो समय बजारका लगानीकर्ताको मनोबल उकास्ने अभियानमा छ । यस्तो अवस्थामा बजार घट्नुपर्ने कुनै कारण नै नरहेको समेत विज्ञहरुले बताएका छन् ।
करेक्सन व्यहोरेको आइतबारको बजारमा बित्त समूहको उपसूचक ४.२५ अंकले बढे पनि बाँकी सबै समूहमा गिरावट आएको छ ।
बैंकिङ समूह २५.२४ अंकले घटेको यो दिन व्यापार समूहमा २२.९२ अंक, होटल समूहमा ६४.५ अंक, विकास बैंक समूहमा ३८.३५ अंक, जलविद्युत समूहमा २२.२१ अंक, निर्जीवन बिमा समूहमा ३२२.३७ अंक, जीवन बिमा समूहमा ४७४.६१ अंक, माइक्रोफाइनान्स समूहमा ९०.२७ अंक, उत्पादन तथा प्रशोधन समूहमा १६९.१२ अंक, अन्य समूहमा १६.२३ अंक र म्युचुअल फण्ड समूहमा ०.२ अंकको करेक्सन भएको छ ।
धेरै कारोबार गर्ने कम्पनी
यो दिन एनएमबी बैंकले सबैभन्दा बढी २६ करोड ६३ लाख बढीको कारोबार गरेको छ ।
ग्लोबल आइएमई बैंकले २५ करोड ८५ लाख बढीको कारोबार गरेको यो दिन नेपाल लाइफ इन्स्योरेन्सले २४ करोड ६४ लाख बढी, एनआइसी एशिया बैंकले २१ करोड ८८ लाख, नेपाल बैंकले १७ करोड १९ लाख, नवील बैंकले १५ करोड ७४ लाख, प्रभू बैंकले १५ करोड ३२ लाख, हिमालयन डिस्टीलरीले ११ करोड ३६ लाख, एभरेष्ट बैंकले १० करोड ७२ लाख र एशियन लाइफ इन्स्योरेन्सले ९ करोड २३ लाख बढीको कारोबार गरेका छन् ।
धेरै कमाउने र गुमाउने कम्पनी
बजारमा दोहोरो अंकको करेक्सन आए पनि २ कम्पनीका लगानीकर्ताले कुस्त कमाए । मितेरी डेभलपमेन्ट बैंक र मञ्जुश्री फाइनान्सको सेयरमूल्यमा यो दिन पनि पोजिटिभ सर्किट लाग्यो । दुवै कम्पनीको सेयर मूल्य १० प्रतिशतको हाराहारीमा बढ्यो ।
यो दिन बोटलर्स नेपाल तराई लिमीटेडको मूल्यमा नेगेटिभ सर्किट लाग्यो । यो कम्पनीको सेयर मूल्य १० प्रतिशतले घट्यो । स्वाभिमान लघुवित्तको मूल्यमा ९ प्रतिशत हाराहारीको गिरावट आयो ।
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19