काठमाण्डौ । धनुषा जिल्लामा सोमबार बिहान कोरोना संक्रमण पुष्टि भएका थप तीनजनामध्ये दुईजना प्रहरी रहेको खुलेको छ।

नगराइन नगरपालिकास्थित गंगुली क्वारेन्टाइनमा खटिएका दुईजना प्रहरीमा संक्रमण पुष्टि भएको हो। उनीहरु ४५ वर्षका र ३१ वर्षका छन्। 

दुवैलाई प्रादेशिक अस्पतालको आइसोलेसनमा ल्याउने तयारी भइरहेको प्रदेश प्रहरी कार्यालय जनकपुरधामले जनाएको छ। 

स्वास्थ्य मन्त्रालयले सोमबार बिहान जारी गरेको विज्ञप्तिमा नगराइन नगरपालिकाकै अर्का ३० वर्षीय पुरुषमा संक्रमण पुष्टि भएको छ। यी तीनैजनाको स्वाब परीक्षण काठमाण्डौस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा भएको थियो।

यी तीनजनासँगै देशका विभिन्न भागमा सोमबार बिहान थप ७२ जनामा थपिएका छन्। यीसँगै नेपालमा हालसम्म ६७५ जनामा कोरोना संक्रमण देखिइसकेको छ।