काठमाण्डौ । आर्थिक वर्ष २०७२/७३ को नाफाबाट बैंक तथा बित्तीय संस्थाले धमाधम लाभांश घोषणा गरेपछि त्यसको प्रभावले पूँजीबजार हराभरा बन्न थालेको छ । 

चुक्तापूँजी बढाउने चटारोका कारण बैंक तथा बित्तीय संस्थाहरुले नाफाबाट बोनस सेयर, हकप्रद र नगद लाभांश समेत घोषणा गर्न थालेपछि लगानीकर्ताहरु यस्ता कम्पनीको सेयर खरीद गर्न लोभिएका हुन् । यही कारण यो साताको पहिलो दिनदेखि नै पूँजीबजार दोहोरो अंकले बढिरहेको छ । 

बिमा कम्पनीहरुले समेत चुक्तापूँजी बढाउनलाई हकप्रद घोषणा गर्न थालेपछि यसतर्फ पनि लगानीकर्ताको आकर्षण देखिएको छ । 

यही आकर्षणका कारण मंगलबार पनि बजार दोहोरो अंकले बढेको छ । २१.५४ अंकले बढेर नेप्से परिसूचक १७८८.०८ को उचाईमा  पुगेको हो । 

मंगलबार दुई समूह बाहेक अन्य सबैको सूचक दोहोरो अंकले वृद्धि भयो । 

सबैभन्दा बढी जलविद्युत समूहको सूचक ९०.७१ अंकले बढ्यो । त्यसपछि उत्पादनमूलक ७२.१४ अंकले उक्लियो । वाणिज्य बैंक २४.३ अंकले वृद्धि भयो भने विकास बैंक र बित्त समूह क्रमशः १८.५७ र ३.७८ अंकले उक्लिए । 

होटल ११.९७ अंक, बिमा १५.२६ र अन्य समूह ३.७६ अंकले उकालो लागे । सेन्सेटिभ इण्डेक्स र फ्लोट इण्डेक्स क्रमशः ४.८७ र १.८ अंकले उक्लिए ।

दोहोरो अंकले नै नेप्से परिसूचक बढे पनि सोमबार भन्दा कारोबार रकम चाहि करिब ५ करोडले कम भएको छ । मंगलबार १ सय ४२ कम्पनीका १८ लाख ९७ हजार कित्ता सेयर १ अर्ब ४५ करोड १२ लाखमा किनबेच भयो । 

धेरै कारोबार गर्नेहरु
मंगलबार सबैभन्दा धेरै चिलिमे हाइड्रोपावर कम्पनीको ८ करोड ७८ लाखको सेयर कारोबार भयो । नेपाल बंगलादेश बैंकले ८ करोड १३ लाखको  कारोबार गर्यो भने बोनस र हकप्रद वितरणको तयारीमा रहेको सिटिजन्स बैंक इन्टरनेशनलको ८ करोड ७ लाखको बराबरको सेयर किनबेच भयो । हिमालयन जनरल इन्स्योरेन्सले ७ करोड १४ लाख, लुम्बिनी जनरल इन्स्योरेन्सको ६ करोड १४ लाख, एनएमबी बैंकको ५ करोड ७७ लाख, सिद्धार्थ बैंकको ४ करोड ८३ लाख, माछापुच्छे बैंकको ४ करोड ७३ लाखको  कारोबार भयो । शिखर इन्स्योरेन्सले ४ करोेड २२ लाख र प्राइम कमर्सियल बैंकले ४ करोड २० लाखको कारोबार गरे । 

धेरै कमाउने र गुमाउने कम्पनी
मंगलबार ४ वटा कम्पनीको सेयर मूल्य १० प्रतिशतको दरले बढ्यो । १० प्रतिशतकै हाराहारीमा अन्य तीन कम्पनीले समेत बाजी मारे । युनियन फाइनान्स, समीट माइक्रो फाइनान्स डेभलपमेन्ट बैंक, ओमी माइक्रो फाइनान्स बित्तीय संस्था र  राष्ट्रिय बिमा कम्पनी लिमीटेडको सेयर मूल्यमा १० प्रतिशतको वृद्धि भयो । यसैगरी, साइन रेसुंगा डेभलपमेन्ट बैंक, सिन्धु विकास बैंकले पनि १० प्रतिशतकै हाराहारीमा सेयर मूल्य बढाए । बोटलर्स नेपाल(तराई) लिमीटेडले ९.५  प्रतिशतले सेयर मूल्य बढायो ।

मंगलबार ६ वटा कम्पनीले ३ देखि ४ प्रतिशतको बीचमा सेयर मूल्यमा क्षति व्यहोर्नुपर्यो । सबैभन्दा धेरै सगरमाथा इन्स्योरेन्सको लगानीकर्ताले ३.९२ प्रतिशतले सम्पत्ति गुमाउन पुगे । यसैगरी, कारोबार धेरै भए पनि हिमालयन जनरल इन्स्योरेन्सका लगानीकर्ताले ३.७७ प्रतिशतले सम्पत्ति गुमाउनुपर्यो । हामा मर्चेन्ट एण्ड फाइनान्स, यूनाइटेड इन्स्योरेन्स, लुम्बिनी जनरल इन्स्योरेन्स, प्रूडेन्सियल इन्स्योरेन्सका लगानीकर्ताले ३ प्रतिशत भन्दा बढीले सेयर मूल्यमा क्षति व्यहोर्नुपर्यो ।