काठमाण्डौ । सरकारले आर्थिक विधेयक–२०८०मार्फत लिएको करको नीतिप्रति असन्तुष्टि जनाउँदै सेयर लगानीकर्ताहरुले आइतबार बिहानैदेखि विभिन्न ब्रोकर कार्यालय पुगेर तालाबन्दी गरिरहेका छन्। 

आन्दोलनमा उत्रिएका सेयर लगानीकर्ताहरुले गत बिहीबार ब्रोकर कार्यालयहरुमा पुगेर टीएमएस बन्द गर्न लगाएका थिए। उनीहरुले टीएमएस सञ्चालन गर्न नदिन भनेर आज बिहानैदेखि ब्रोकर कार्यालयहरुमा तालाबन्दी गरिरहेका छन्। अहिलेसम्म आधा दर्जनभन्दा बढी ब्रोकर कार्यालयहरुमा तालाबन्दी भइसकेको छ। 

आन्दोलनरत लगानीकर्ताहरुले आफूहरुको माग पूरा नभएसम्म आन्दोलन नराकिने र सेयर कारोबार गर्न नदिने भनिरहेका छन्। उनीहरुले ब्रोकर हाउसहरुमा लगाइएको ताला खोल्ने प्रयास भएमा त्यसबाट उत्पन्न परिस्थितिको जिम्मेवारी स्वयं ब्रोकर सञ्चालकले लिनुपर्ने चेतावनी दिएका छन्। 

स्टक ब्रोकर एसोसिएसन अफ नेपालका निवर्तमान अध्यक्ष सन्तोष मैनाली लगानीकर्ताहरुले ब्रोकर कार्यालयहरुमा लगाएको ताला आफूहरुले नखोल्ने स्पष्ट पारिसकेका छन्। उनले सरकार र नियामक निकायले नै लगानीकर्ताहरुलाई आश्वस्त पारेर ताला खोली कार्यालय सञ्चालनको वातावरण मिलाउनुपर्ने बताएका छन्। 

बजार सञ्चालक नेपाल स्टक एक्सचेन्ज (नेप्से)का सीईओ कृष्णबहादुर कार्कीले करको विषयमा आफूहरुले केही गर्न नमिल्ने बताए। ‘यो सरकारको कुरा हो’, उनले भने। 

अहिले उत्पन्न परिस्थितिबारे ब्रोकर र लगानीकर्ताहरुसँग समन्वय गर्न सकिने सीईओ कार्कीले बताए। ‘बजार सञ्चालनका लागि हामी ब्रोकर सञ्चालक र लगानीकर्ताहरुसँग समन्वय गर्न तयार छौँ’, उनले भने, ‘त्यसपछि उहाँहरुबाट प्राप्त राय–सुझावका आधारमा अगाडि बढ्ने प्रयास गर्नेछौँ।’

आर्थिक विधेयकको २९ नं. बुँदा खारेजीको माग लगानीकर्ताहरुले गरेका छन्। उक्त बुँदामार्फत सेयर लगानीकर्तालाई आयकरमा तान्न लागिएको उनीहरुको भनाइ छ। यसअघिको ५ प्रतिशत र ७.५ प्रतिशत पुँजीगत लाभकर नै अन्तिम हुनुपर्ने उनीहरुको माग छ।