काठमाण्डौ । सरकारले धानको मूल्य बढाएको छ। 

कृषि तथा पशुपन्छी विकास मन्त्रालयले चालु आर्थिक वर्षका लागि धानको मूल्यमा वृद्धि गर्दै न्यूनतम समर्थन मूल्य निर्धारण गरेको हो। जसअनुसार मोटा धानको प्रतिक्विन्टल २ हजार ९६७ रुपैयाँ र मध्यम धानको प्रतिक्विन्टल ३ हजार १२८ रुपैयाँ न्यूनतम समर्थन मूल्य तोकिएको छ। 

गत वर्षको तुलनामा मोटा धानको मूल्य प्रतिक्विन्टर २१५ रुपैयाँ वृद्धि भएको छ भने मध्यम धानको मूल्य प्रतिक्विन्टल २६६ रुपैयाँ वृद्धि भएको छ। 

सरकारले तोकेको न्यूनतम मूल्यभन्दा कममा धान खरिदबिक्री गर्न पाइँदैन। किसानको धान बिक्री नभएको खण्डमा सरकारले खाद्य व्यवस्था तथा व्यापार कम्पनीमार्फत धान खरिद गर्ने गरेको छ। 

यसैगरी सरकारले न्यूनतम समर्थन मूल्यमा कृषि सहकारीमार्फत धान खरिद गर्न ३३ करोड रुपैयाँ बजेटको व्यवस्था गरेको छ। प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनामार्फत कृषि सहकारीका लागि तोकिएको न्यूनतम समर्थन मूल्यमा धान खरिदका लागि छिट्टै सूचना प्रकाशन गरिने मन्त्रालयले जनाएको छ। 

हाल स्वीकृत कार्यविधिअनुसार तोकिएको न्यूनतम समर्थन मूल्यमा धान खरिद गर्ने कृषि सहकारीहरुलाई ११२ रुपैयाँ प्रतिक्विन्टल व्यवस्थापन खर्च उपलब्ध गराउने व्यवस्था छ। 

गत वर्ष सरकारले करिब ९ हजार मेट्रिकटन धान खरिद भएको थियो। चालु आर्थिक वर्षमा ३ लाख मेट्रिकटन धान खरिद गर्ने सरकारी लक्ष्य छ। त्यसका लागि ३३ करोड रुपैयाँ बजेट विनियोजन गरिएको छ।