काठमाण्डौ । धितोपत्रको भित्री कारोबारमा संलग्नहरुमाथि कारबाही माग गर्दै नेपाल धितोपत्र बोर्ड (सेबोन) मा उजुरी परेको छ। 

धितोपत्रको भित्री कारोबारमा संलग्न हुने कम्पनीका सञ्चालक तथा पदाधिकारिहरुलगायत बजारका ठूला खेलाडीहरुमाथि आवश्यक अनुसन्धान गरी कारबाही गर्न माग गर्दै आमलगानीकर्ताको प्रतिनिधित्व गर्दै एक साना लगानीकर्ताले गत भदौ १० गते सेबोनमा उजुरी दिएका हुन्। 

हाल बजारमा केही सूचीकृत कम्पनीहरुको मूल्य अस्वभाविक रुपमा बढाइएको उजुरीमा उल्लेख छ। ‘विशेषगरी सूचीकृत कम्पनीका सञ्चालकहरुले योजनाबद्ध रुपमा ठूला खेलाडीसँगको मिलेमतोमा ३–४ महिनाअघिदेखि ठूलो मात्रामा आफन्त, व्यावसायिक साझेदार, साथीभाइका नाममा सेयर खरिद गर्ने र हकप्रद सेयर जारी गर्ने घोषणा गर्ने, अनि हकप्रद र बोनसको सूचना बाहिर ल्याएर ठूला खेलाडी तथा कम्पनीका सञ्चालकहरुले ३–४ महिना आगाडिदेखि संकलन गरेको सेयर आमसर्वसाधरणलाई बिक्री गर्ने’, उजुरीमा भनिएको, ‘त्यसैगरी ठूला खेलाडीहरुले सस्तो मूल्यमा सेयर कर्नरिङ गर्ने अनि हकप्रद, सम्भावित ईपीएस, मर्जरलगायतका मूल्यमा प्रभाव पार्ने हल्ला चलाएर माथिल्लो मूल्यमा लगेर आमसर्वसाधारणलाई सेयर भिडाउने गरेको नाङ्गो आँखाले देख्दा पनि नियमक निकाय तथा अर्थ मन्त्रालयले खासै चासो नदिएको देखिएको छ।’

यस्तो कुकर्म गरी कम्पनीका ठूला संस्थापक सेयरधनी तथा खेलाडीहरुको समूहले बजारमा सेयरको मूल्य १०५, २०५, ३०५ प्रतिशतमात्र बढाउने होइन ४ गुणासम्म बढाएर एउटै व्यक्ति तथा समूहले अर्बौंको मात्रामा बजारबाट क्यापिटल गेनका रुपमा सर्वसाधारणको रकम कुम्ल्याइरहेको उजुरीमा जनाइएको छ। 

त्यसैगरी उजुरीमा गोर्खाज फाइनान्स, आईसीएफसी फाइनान्समा खुलेआफ सेयर कर्नरिङ भइरहेको पनि उल्लेख छ। ‘वित्तीय रुपमा अत्यन्त कमजोर वित्त, विकास बैंक र जलविद्युजस्ता थुप्रै कम्पनीहरुको सेयर कर्नरिङ गरेर सर्वसाधारणलाई सेयर भिडाउने काम भइरेको देखिन्छ’, उजुरीमा ती साना लगानीकर्ताले लेखेका छन्, ‘यस्तो प्रवृत्ति बजारमा बढ्दै गएको देखिन्छ।’

यस्ता कम्पनीहरुको सेयर कारोबारमा भएका अवान्छित र आपराधिक गतिविधिको नियमन र छानबिन नभएमा सर्वधारण लगानीकर्ताको लगानी डुब्ने ती साना लगानीकर्ताको धारणा छ। ‘सर्वसाधारणले निकट भविष्यमा आत्महत्या गर्नेसम्मको स्थिति आउने पक्का भएकाले आवश्यक छानबिन गरी कारबाही होस्’, उजुरीमा माग गरिएको छ। 

हकप्रद र बोनस जारी गर्नुभन्दा १–२ दिनअगाडिको कारोबार मूल्य र रकममात्र नभएर योजनाबद्ध रुपमा ३–४ महिनाअघिबाट कुन ब्यक्ति, समूह वा कम्पनीका सञ्चालक पदाधिकारीहरुले सेयर खरिद बढाएका छन् तथा हकप्रद र बोनस घोषणा हँुदाका बखत कुन ब्यक्ति, समूह वा कम्पनीका संस्थापक र सञ्चालक पदाधिकारीहरुका आफन्तले सेयर बिक्री गरेका छन्, सोहीअनुसार छानबिन हुन जरुरी रहेको उजुरीमा सुझाव दिइएको छ। यी विषयमा छानबिन भई दोषीमाथि कारबाही अपेक्षा ती साना लगानीकर्ताले जनाएका छन्। 

निवेदनको प्रधानमन्त्रीको कार्यालय (नेपाल सरकार), अर्थमन्त्री र अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई पनि दिइएको छ। 

धितोपत्र बोर्डकी सूचना अधिकारी दीपा दाहालले गत भदौ १० गते साना लगानीकर्ताका नाममा एउटा उजुरी ई–मेलमार्फत प्राप्त भएको बताइन्। ‘उक्त उजुरीमाथि अनुसन्धान धितोपत्र बोर्डको कानुन शाखामा पठाइएको छ, त्यहाँका अधिकारीहरुले छानबिन गर्नुहुन्छ’, उनले भनिन्।

उजुरीकर्ताले केही कम्पनीका ३–४ महिनाअगाडिको मूल्य र हाल बोनस तथा हकप्रद जारीको घोषणापछि मूल्य तथा कारोबार भोलुमलगायत आँकडा पनि प्रस्तुत गरेका छन्। तल हेर्नुहोस् –