काठमाण्डौ । नेपाल धितोपत्र बोर्ड (सेबोन)ले धितोपत्रमा लगानी गर्दा धैर्यता, लगनशीलता तथा दूरदृष्टि कायम राख्नुपर्ने सुझाव दिएको छ। 

वर्ल्ड इन्भेस्टर विक–२०२३का अवसरमा चेतनामूलक सन्देश जारी गर्दै सेबोनले यस्तो सुझाव दिएको हो। ‘धितोपत्र बजारमा लगानी गर्ने लगानीकर्ताहरुले धैर्यता, लगनशीलता र तथा दूरदृष्टि कायम राखी लगानीलाई दिगो एवं प्रतिफलमुखी बनाउनुपर्छ’, सन्देशमा भनिएको छ। 

धितोपत्र कारोबारमा हुने जोखिमलाई व्यवस्थापन गर्न, अनपेक्षित वित्तीय तथा आर्थिक प्रभावहरुबाट सुरक्षित रहन लगानीसम्बन्धी रणनीतिक योजना तयार गर्नुका साथै आपतकालीन कोषको व्यवस्था गर्न पनि सेबोनले सुझाव दिएको छ। 

धितोपत्र कारोबारमा धोका, जालसाजी तथा छलकपटबाट बच्न स्वयं सचेत रही स्वतन्त्र रुपमा आफ्नो स्वविवेकी निर्णय गर्न पनि सेबोनले आग्रह गरेको छ। 

हतारमा लगानी निर्णय गर्न दबाब दिने जोकोहीलाई अविश्वास गर्न पनि सेबोनले सुझाएको छ। 

छिटो धनी बन्ने उद्देश्यलाई कम प्राथमिकता दिई धितोपत्र बजारमा लगानी गर्दा तथ्यगत, यथार्थपरक र उचित सूचना लिई संयमित एवं विवेकशील भई लगानीसम्बन्धी निर्णय लिन पनि सेबोनले सुझाव दिएको छ।