काठमाण्डौ । स्वतन्त्र पुँजीबजार संघले आन्दोलनरत लगानीकर्ताहरुलाई नेपाल धितोपत्र बोर्ड (सेबोन) आज हुने वार्षिकोत्सव कार्यक्रम बहिष्कार गर्न अपिल गरेको छ। 

पुँजीबजार सुधार र विकासका थालिएको शान्तिपूर्ण आन्दोलनमा प्रहरी हस्तक्षेप गरेकोले आज हुने सेबोनको वार्षिकोत्सव कार्यक्रम बहिष्कार गर्न लगानीकर्ताहरुलाई संघले अपिल गरेको छ। संघका अध्यक्ष रोहन कार्कीले सामाजिक सञ्जालमार्फत आज हुने सेबोनको वार्षिकोत्सवमा बहिष्कार गर्न लगानीकर्ताहरुलाई अपिल गरेका छन्। 

हिजो संघर्ष समितिद्वारा पूर्वनिर्धारित कार्यक्रमअनुसार काठमाण्डौको भद्रकालीस्थित नेप्से कार्यालय घेराउ गर्न पुगेका लगानीकर्ताहरुलाई प्रहरीले हस्तक्षेप गरेको थियो। त्यस क्रममा प्रहरीले संघर्ष समितिका संयोजक तिलक कोइरालासहित ५ जनालाई पक्राउ गरेको थियो।

सोही प्रहरी हस्तक्षेपविरुद्ध सेबोनको कार्यक्रम बहिष्कार गर्न अपिल गरिएको कार्कीले बताए। उनले प्रहरी हस्तक्षेप र पुँजीबजारविरोधी नीतिविरुद्ध आवाज उठाउन आज बिहान १०ः३० बजे माइतीघर मण्डलामा भेला हुन पनि लगानीकर्ताहरुलाई आग्रह गरेका छन्। 

पक्राउ परेका पाँचैजना अहिले पनि प्रहरी हिरासतमा छन्। कोइरालाले हिजैबाट प्रहरी हिरासतभित्रैबाट आमरण अनशन सुरु गरिसकेका छन्। बाँकी ४ जनाले भने रिले अनशन थालेका छन्।

सेबोनले आज आफ्नो ३० औँ वार्षिकोत्सव मनाउँदैछ।