काठमाण्डौ । नेपालमा निजी क्षेत्रबाट पनि नयाँ स्टक एक्सचेन्जका लागि आवेदन परेको छ। 

सर्वोच्च अदालतबाट क्लिन चिट पाएपछि गत जेठ ३० गते नेपाल धितोपत्र बोर्ड (सेबोन)ले १० दिनको म्याद राखेर नयाँ स्टक एक्सचेन्ज र कमोडिटी एक्सचेन्जको लाइसेन्स लिन आवेदन खुला गरेको थियो। सेबोनविरुद्ध नयाँ व्यापारिक लाइसेन्स वितरणको प्रक्रिया रोक्न परेको रिट गत चैत २६ गते सर्वोच्च अदालतले खारेज गरेको थियो। योसँगै सेबोनलाई नयाँ स्टक एक्सचेन्ज, कमोडिटी एक्सचेन्ज र ब्रोकर लाइसेन्स वितरण गर्ने बाटो खुलेको थियो।

गत असोज २ गते सेबोनले यी तीनै प्रकारका लाइसेन्स वितरण गर्न आवेदन खुला गरेको थियो। नयाँ ब्रोकर लाइन्सेन्सका लागि ३५ दिन र नयाँ स्टक एक्सचेन्ज र कमोडिटी एक्सचेन्जका लागि आवेदन दिन ४५ दिनको म्याद दिइएको थियो। तर अधिवक्ता दीपकविक्रम मिश्रले नयाँ व्यापारिक लाइसेन्स वितरण प्रक्रिया रोक्न माग गर्दै सर्वोच्चमा रिट दायर गरेका थिए।

यो प्रक्रिया रोकिनुअघि नयाँ ब्रोकर लाइसेन्सका लागि भने आवेदन दिने म्याद सकिएको थियो। नयाँ ब्रोकर लाइसेन्सका लागि ४६ वटा आवेदन परेको थियो। 

पछिल्लो समय खुला गरिएको आवेदनमा नयाँ स्टक एक्सचेन्जका लागि शुक्रबारसम्म एउटा कम्पनीले आवेदन दिएको सेबोनका सूचना अधिकारी तेजप्रसाद देवकोटाले जानकारी दिए। ‘हिमालयन स्टक एक्सचेन्जको आवेदन परेको छ’, उनले भने। 

देवकोटाका अनुसार आउँदो आइतबारसम्म आवेदन दिन पाइन्छ। ‘आइतबार बिदा परेमा आवेदन दिने समय सोमबारसम्म लम्बिन सक्छ’, उनले भने। 
कमोडिटी एक्सचेन्जका लागि भने आवेदन परिनसकेको देवकोटाले जानकारी दिए।