काठमाण्डौ । नेपाल धितोपत्र बोर्ड (सेबोन) ७ वटा कम्पनीलाई नयाँ ब्रोकर लाइसेन्स वितरण गरेको छ। 

सेबोन सञ्चालक समितिको सोमबार बसेको बैठकले ७ वटा कम्पनीलाई नयाँ ब्रोकर लाइसेन्स वितण गर्ने निर्णय गरेको सेबोनका प्रवक्ता मुक्तिनाथ श्रेष्ठले जानकारी दिए। ‘लाइसेन्स पाउनेमा चुक्तापुँजी २० करोड रुपैयाँ भएका सीमित कार्य गर्ने धितोपत्र दलाल सेवा कम्पनी छन्’, उनले बिजशालालाई भने। 

ब्रोकर लाइसेन्स पाउनेमा काठमाण्डौको अनामनगरस्थित भोले गणेश सेक्युरिटिज, ज्ञानेश्वरस्थित क्यापिटल म्याक्स सेक्युरिटिज, डिल्लीबजारस्थित हिमालयन ब्रोकरेज, नक्सालस्थित सन सेक्युरिटिज, हात्तीसारस्थित मियो सेक्युरिटिज, ढल्कुस्थित सेयरप्रो सेक्युरिटिज र नागपोखरीस्थित प्रोपर्टी विजार्ड लिमिटेड रहेका छन्।

सेबोनमा ४६ वटा कम्पनीले ब्रोकर लाइसेन्सका लागि आवेदन दिएका थिए। तीमध्ये ४३ वटालाई भौतिक पूर्वाधार निर्माण गर्न सेबोनले आशयपत्र (एलओआई) दिएको छ।

प्रवक्ता श्रेष्ठका अनुसार सेबोनले तोकेको मापदण्डअनुसार भौतिक पूर्वाधार निर्माण गरेका ७ वटा कम्पनीलाई ब्रोकर लाइसेन्स दिइएको छ। ‘सेबोनले स्थलगत निरीक्षण गरेर ती कम्पनीलाई ब्रोकर लाइसेन्स दिने निर्णय गरेको हो’, उनले भने।