काठमाण्डौ । प्रतिनिधिसभाअन्तर्गत अर्थ समितिले नयाँ ब्रोकरलाई लाइसेन्स वितरणको प्रक्रिया अगाडि बढाउन नेपाल धितोपत्र बोर्ड (सेबोन)लाई बाटो खुला गरिदिएको छ। 

यसअघि अर्थ समितिले नयाँ ब्रोकर लाइसेन्स वितरणको प्रक्रिया रोक्न निर्देशन दिँदै धितोपत्र बोर्डका लागि छलफलमा डोकेको थियो। अर्थ समितिको आजको बैठकमा धितोपत्र बोर्डसँग छलफल गरेपछि लाइसेन्स वितरण प्रक्रिया अगाडि बढाउन अनुमति दिएको हो। 

अर्थ समितिले बैठकमा धितोपत्र बोर्डका अध्यक्ष रमेश हमाललाई ब्रोकर लाइसेन्स वितरण प्रक्रियाका बारेमा स्पष्ट पार्न भनेको थियो। हमालले केही ब्रोकरले मात्रै लाभ लिन सक्ने अवस्थालाई अन्त्य गरी बजारमा खुला प्रणाली ल्याएको जानकारी गराए। उनले मापदण्ड पूरा गरेका र सक्षम कम्पनीलाई मात्रै ब्रोकर लाइसेन्स पाउन सक्ने व्यवस्था गरेको बताए। 

धितोपत्र बोर्डमा नयाँ ब्रोकर लाइसेन्सका लागि ४३ वटा कम्पनीले आशयपत्र पाइसकेका छन्। तीमध्ये १८ वटा कम्पनीलाई बोर्डले नयाँ ब्रोकर लाइसेन्स दिइसकेको छ। 

लाइसेन्स पाएकामध्ये ७ वटाले नेपाल स्टक एक्सचेन्ज (नेप्से)बाट कारोबार सञ्चालनका लागि एलओआई पाइसकेका छन्।