काठमाण्डौ । मुक्तिनाथ विकास बैंकको सहायक कम्पनी मुक्तिनाथ क्यापिटलले संस्थागत परामर्श तथा कोष व्यवस्थापक सेवाको लाइसेन्स पाएको छ।

नेपाल धितोपत्र बोर्ड (सेबोन)ले मुक्तिनाथ क्यापिटललाई संस्थागत परामर्श तथा कोष व्यवस्थापक सेवा सञ्चालकका लागि लाइसेन्स प्रदान गरेको हो। यो महत्वपूर्ण उपलब्धिले मुक्तिनाथ क्यापिटललाई आफ्नो सेवा प्रवाहलाई फराकिलो बनाउन र आफ्ना सेवाग्राहीलाई थप वित्तीय सेवा तथा समाधान उपलब्ध गराउन सहज हुने भएको छ। 

सेबोनबाट लाइसेन्स पाएसँगै मुक्तिनाथ क्यापिटललाई आफ्ना सेवाहरु विस्तार गर्न सहयोग पुग्नेछ। यसका साथै कम्पनीलाई विभिन्न वित्तीय क्षेत्रमा विशेषज्ञ मार्गदर्शन र समर्थन प्रदान गर्न सशक्त बनाउनेछ। 

मुक्तिनाथ क्यापिटलले यो लाइसेन्स पाउनुले मुक्तिनाथ विकास बैंकका लागि कोशेढुंगा साबित भएको छ। योसँगै मुक्तिनाथ विकास बैंक नेपालमा म्युचुअल फन्ड दर्ता गर्ने पहिलो विकास बैंक पनि बनेको छ। 

यो उपलब्धिले मुक्तिनाथ विकास बैंकको नवप्रवर्तन तथा आफ्ना ग्राहकलाई लगानीका विविध अवसर गर्ने प्रतिबद्धतालाई थप उजागर गरेको छ। 

सेबोनबाट लाइसेन्स पाएसँगै मुक्तिनाथ क्यापिटलले निटक भविष्यमा आफ्नो पहिलो म्युचुअल फन्ड ल्याउनेछ। यो नवीन पहलले मुक्तिनाथ क्यापिटलले लगानीकर्तालाई व्यावसायिक रुपमा व्यवस्थित र विविध पोर्टफोलियो उपलब्ध गराउँदै थप लगानीको अवसर उपलब्ध गराउनेछ।

मुक्तिनाथ क्यापिटलका सीईओ कविन्द्रध्वज जोशीले सेबोनबाट संस्थागत परामर्श तथा कोष व्यवस्था सेवाको लाइसेन्स पाउँदा आफूहरु निकै उत्साहित भएको बताए। ‘यो लाइसेन्स प्राप्तिले कामप्रतिको हाम्रो समर्पण र ग्राहकलाई थप वित्तीय सेवा तथा समाधान प्रदान गर्न सहज बनाएको छ’, उनले भने।