काठमाण्डौ । नेपाल धितोपत्र बोर्ड (सेबोन) ले चालु आर्थिक वर्ष २०८०–८१को नीति तथा कार्यक्रम सार्वजनिक गर्ने तयारी गरिरहेको छ। 

सेबोनले साउनको दोस्रो साताभित्रै नीति तथा कार्यक्रम सार्वजनिक गर्ने तयारी गरिरहेको छ। ‘नीति तथा कार्यक्रम तयार भइसकेको छ’, सेबोनका एक अधिकारीले भने, ‘सार्वजनिक गर्ने मिति भने तय भइसकेको छैन। तर, छिट्टै सार्वजनिक गरिन्छ होला।’

ती अधिकारीका अनुसार सेबोन अध्यक्ष रमेशकुमार हमालले हिजोआज बिदामा बसेका छन्। ‘अध्यक्ष बिदा रहनुभएकोले मितिको टुंगा नलागेको हुन सक्छ’, ती अधिकारीले भने, ‘भोलिबाट अध्यक्ष कार्यालयमा आउनुहुन्छ, त्यसपछि नीति तथा कार्यक्रम सार्वजनिक गर्ने मिति तय होला।’

नीति तथा कार्यक्रम नयाँ कुरा खासै नआउने पनि ती अधिकारीले प्रस्ट पारे। ‘नियमित कार्यहरु नै नीति तथा कार्यक्रममा आउनेछन्’, ती अधिकारीले भने।

सेबोनले गत आर्थिक वर्षको नीति तथा कार्यक्रम गत वर्ष साउन १२ गते सार्वजनिक गरेको थियो। 

गत वर्षको नीति तथा कार्यक्रममा धितोपत्र बजारको विकास तथा सन्तुलनका लागि नियामकीय क्षमता, जनशक्ति सबलीकरण, नियमन क्षमता र सुपरिवेक्षणमा प्रविधिको प्रयोगलाई सेबोनले प्राथमिता राखिएको थियो। लगानीकर्ताको हकहित संरक्षणका लागि धितोपत्रसम्बन्धी कानुनविपरीत कार्य गर्ने संस्था तथा व्यक्तिलाई तत्कालमा कारबाहीको दायरामा ल्याउनुका साथै बोर्डका कार्यलाई उच्च प्रविधियुक्त तथा सूचना प्रविधिमैत्री बनाउने र विश्व स्तरीय प्रविधि एवं प्रविधि सञ्चालनमा चाहिने जनशक्ति तयार गरी सुपरिवेक्षण प्रणालीलाई आर्टिफिसियल इन्टिलिजेन्समा आधारित रेगटेकमार्फत चुस्तदुरुस्त बनाई बजारमा हुनसक्ने चलखेल एवं अनुचित क्रियाकलापलाई निरुत्साहन गर्ने लक्ष्य पनि सेबोनले लिएको थियो। 

गत वर्षको नीति तथा कार्यक्रममा बुक बिल्डिङ प्रणाली दिगो एवं पारदर्शी रुपमा सञ्चालनमा ल्याउन अन्तर्राष्ट्रिय रुपमा प्रयोगमा रहेको अटोमेटेड इलेक्ट्रोनिक अक्सन सिस्टम तयार गरी दिगो र स्थापित वास्तविक क्षेत्रका कम्पनीहरुलाई धितोपत्र बजारमा भित्र्याउने सेबोनले नीति लिइएको थियो। 
यिनै विषयवस्तुले चालु आर्थिक वर्ष नीति तथा कार्यक्रममा निरन्तरता पाउने सेबोन स्रोत बताउँछ।