काठमाण्डौ । नेपाल धितोपत्र बोर्ड (सेबोन)को वार्षिक नीति तथा कार्यक्रमको चौमासिक रुपमा समीक्षा गरिने भएको छ। 

सेबोनले आज सार्वजनिक गरेको चालु आर्थिक वर्षको नीति तथा कार्यक्रममा चौमासिक समीक्षाको विषयलाई समेटिएको हो। अब सेबोनको वार्षिक नीति तथा कार्यक्रम तयार गर्ने र सोको चौमासिक रुपमा कार्यान्वयन अवस्थाको समीक्षा गरिने भएको छ। 

यसका साथै धितोपत्र बजार तथा वस्तु विनिमय बजारसँग सम्बन्धित नीति निर्माणमा राय–सल्लाह लिन सरोकारवाला पक्षसँग छलफल तथा अन्तर्क्रिया कार्यक्रम सञ्चालन गर्ने योजना सेबोनको रहेको छ। 

धितोपत्र कारोबारमा कसैले अनियमितता एवं गलत क्रियाकलापहरु गरेको सम्बन्धमा कसैको उजुरी परेमा वा कुनै पनि माध्यमबाट बोर्ड विश्वस्त भएमा सोको जाँचबुझ तथा छानबिन गर्ने तथा लगानीकर्ताको गुनासो समाधान गरिने नीति पनि सेबोनले लिएको छ।