काठमाण्डौ । अहिले नक्कली प्रमाणपत्रका विषयमा चर्चा फेरि सुरु भएको छ।

नक्कली प्रमाणपत्र बनाएको आरोपमा सांसद सुनील शर्मालगायत केही डाक्टर पक्राउ परेपछि मुलुक फेरि यो विषयले चर्चा पाएको हो। तर, नक्कली प्रमाणपत्रका आधारमा मेडिकल क्षेत्रमा मात्रै नभएर अन्य सरकारी सेवामा थुप्रै प्रवेश गरेको घटना बेला–बेला सुनिँदै आएको छ।

यहीबेला नेपाल धितोपत्र बोर्ड (सेबोन)का पूर्वअध्यक्ष सुरवीर पौड्यालले आज आफ्नो फेसबुक स्ट्याट्समा डाक्टरमात्रै किन ? कर्मचारीहरु पनि थुप्रै नक्कली सर्टिफिकेटवाला छन् भन्ने कुरा लेखेका छन्। ‘एकजना त नेपाल धितोपत्र बोर्डमा पनि थियो र भारतबाट उसको सर्टिफिकेज नक्कली भएको प्रमाणित भएर अख्तियारमा आयो पनि’, पौड्यालले लेखेका छन्, ‘तर, राजनीतिक शक्तिको आडमा उसको जागिर जागियो। उसले अझै जागिर खाँदैछ कि सेवा निवृत्त भएर गयो जानकारी छैन।’

पूर्वअध्यक्ष पौड्यालको यो स्ट्याट्सले अहिले सेबोनभित्र तरंग मच्चिएको छ। पौड्यालले भनेजस्तै सेबोनभित्र अझै पनि नक्कली प्रमाणपत्रधारी कर्मचारीहरु कार्यरत रहेको बिजशालालाई स्रोतले जानकारी दिएको छ। 

सेबोनमा नक्कली प्रमाणपत्र पेस गरेर जागिर खाएको मुद्दा अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा पौड्यालले सेबोन अध्यक्षबाट जागिर छोड्नुभन्दा १ वर्षअगाडि परेको थियो। २०६८ भदौ १० गतेबाट पौड्यालको कार्यकाल सकिएको थियो। त्यतिबेला ती कर्मचारी खरिदार पदमा जागिर खान्थे। पौड्यालले जागिर छाड्दासम्म मुद्दाको टुंगो लागेको थिएन। तर, पछि अख्तियारले ती कर्मचारीको प्रमाणपत्र तहको शैक्षिक प्रमाणपत्र नक्कली भएको प्रमाणित गरेको थियो। 

पौड्यालपछि सेबोनमा बाबुराम श्रेष्ठ अध्यक्ष भएर आएका थिए। उनकै पालामा सेबोनको कार्यालय गौशालाबाट ललितपुर जाउलाखेलमा सार्ने काम भएको छ। ‘कार्यालयको सामान सार्ने क्रममा ती कर्मचारीको फाइल हराएको भन्ने कुरा भयो’, सेबोन स्रोतले भन्यो, ‘त्यसपछि मुद्दा अदालत पनि पुगेको थियो। तर, ती कर्मचारीले सफाइ पाए।’

सेबोन स्रोतका अनुसार हाल ती कर्मचारी कामु सहायक निर्देशक (नासु पद)मा कार्यरत छन्। ‘राजनीतिक आडमा ती कर्मचारीको फाइल हराएको बहाना बनाइएको हो’, स्रोतले भने, ‘हाल ती कर्मचारीले कामभन्दा पनि राजनीतिक अभ्यासमै मस्त हुने गरेका छन्।’