काठमाण्डौ । सन् १९३३ जनवरीमा हिटलरले नेतृत्व गरेको नाजी पार्टीले शासन गरेको जर्मनीमा जिउजहरूलाई ‘बाँच्न लायक नभएको पृथ्वीको भार’ मात्रै ठान्थे । चान्सलर बनेका हिटलरले आफ्नो सबै ध्यान जिउजहरूलाई नष्ट गर्ने काममा लगाउन थाले, किनभने उनले गरेका कामहरुको विषयमा जिउजहरुले प्रश्न उठाउँथे । सबैभन्दा पहिला उनले ‘डचाउ’ यातना शिविर स्थापना गरे, यहूदीहरूद्वारा सञ्चालित पसल र व्यापारहरू बहिष्कार गर्न आह्वान गरे । नयाँ कानून निर्माण गरी यहूदीहरूलाई निजामती सेवा, विश्वविद्यालय र राज्यका कुनै पनि पदधारण गर्नबाट रोके । यहूदीहरूद्वारा व्यक्त गरिएका राजनीतिक असन्तुष्टिहरू र उनीहरुले गरेका प्रश्नहरु सार्वजनिक गर्न नदिनेसम्मको काम भयो । 

आफू र आफूले गरेका कामको विषयमा प्रश्न गर्नेहरुको निर्ममतापूर्वक कत्लेआम गरेका कारण हिटलर इतिहासको पानामा एक निर्मम, लोकतन्त्रविरोधी, तुच्छ र आततायी शासकको रुपमा सम्झिइन्छन् । 

हिटलरको त्यो कालोशासनलाई बिर्साइदिने गरी नेपालको पूँजीबजारको नियामक नेपाल धितोपत्र बोर्डका अध्यक्षले पछिल्लो समय आफूलाई ‘सर्वमान्य नेता’ ठान्दै प्रश्न गर्नेहरुलाई बिनाआधार ठेगान लगाउन थालेका छन् । 

आफ्ना कामहरुको विषयमा प्रश्न गर्ने कर्मचारीहरुलाई छानी–छानी सिध्याउने हत्कण्डा गर्दै आएका अध्यक्ष रमेश हमाललाई पछिल्लो समय धितोपत्र बोर्डका कर्मचारीहरु ‘हिटलर’को संज्ञा दिन्छन् । 

‘हाम्रोमा त हिटलरको शासन छ, तपाईहरुसँग बोल्नै पनि डरमर्दो छ । ख्यामितहरुले गर्नुभएको कामको विषयमा प्रश्न उठाउन बन्देज छ । उहाँहरुको लुटधन्दाको विषयमा जो बोल्यो, उसलाई सिध्याउने टिम नै तयार गर्नुभएको छ हाम्रा अध्यक्षले ।’ एक कर्मचारीले भने–‘हाम्रो असन्तुष्टि व्यापक छ, कसैले सुन्दैन । अब त बिस्फोट हुन मात्र बाँकी हो ।’ 

प्रश्न उठाउँदा यस्तोसम्म !
हुन त धितोपत्र बोर्डको अध्यक्षमा नियुक्त भएको केही समयदेखि नै हमालले आन्तरिक लोकतन्त्रको तेजोबध गर्दै अभिव्यक्ति स्वतन्त्रतामा पूर्ण रोक लगाएका थिए । आफूले गर्न लागेका वा गरेका कामहरुको विषयमा प्रश्न उठाउने, बोर्डभित्रै पनि असन्तुष्टि पोख्नेहरुलाई छानी–छानी हतोत्साही बनाउने गरी जिम्मेवारीहरु खोसेका थिए । 

त्यसपछि उनले आफ्नो ‘कोर टिम’ बनाउने भनेर ‘फुटाउ र शासन गर’को रणनीति अपनाउन थाले । 

सो क्रममा बाहिरका मानिस र विशेष गरी मिडियासँग ‘कसैले कुनै पनि सूचना नचुहाउनू’ भनेर उनले त्रासको खेती गरे । जसले मिडियासम्म सूचना पुर्याउँछ, त्यसको जागिर समेत खोसिदिने धम्की दिएपछि कर्मचारीहरु त्राही–त्राही भए । 

यो बीचमा उनले धितोपत्र बजारसँग सम्बन्धित कतिपय महत्वपूर्ण निर्णय गर्ने, त्यसलाई बोर्डकै आफ्नो कोर टिममा मात्र सीमित राख्ने, स्वार्थ समूहलाई सो सूचना चुहाएर स्वार्थ पूर्ति भएपछि मात्र मिडियाहरुलाई दिनेसम्मका कामहरु भए(हुँदै आएका छन्)। 

धितोपत्र बोर्डले गर्ने कतिपय महत्वपूर्ण निर्णयहरुमा खेल्न सकियोस् भन्ने उद्देश्यले उनले उर्दी जारी गरे–‘कुनै पनि निर्णय २४ घण्टाभन्दा अगाडि बाहिर नभन्नू, नचुहाउनू ।’ 

दोश्रो बजारमा सूचीकृत संस्थाले गरेको कुनै महत्वपूर्ण निर्णय तुरुन्त लगानीकर्तालाई जानकारी दिनुपर्ने कानूनी व्यवस्था छ । तर, बजार प्रभावित हुनेखालका निर्णयहरु गर्दै आएको त्यही बजारको नियामक बोर्डले भने त्यसको ठीक विपरीत आफूले गर्ने निर्णय २४ घण्टासम्म लुकाउँदै आएको छ । यो विषयमा समेत कतिपय कर्मचारीहरुले प्रश्न उठाएका छन् र तिनीहरु पनि अध्यक्ष हमालको पूर्वाग्रही प्रहारको शिकार बन्नु परेको छ । 

पछिल्लो समय धितोपत्र बोर्डका अध्यक्ष हमालले यो वा त्यो नाममा आफूलाई सहयोग गर्ने कर्मचारीहरुलाई छानी–छानी विदेश भ्रमणमा लैजाने गरेका छन् । त्यसको कुनै मापदण्ड बनेको छैन । बरु हमालबाट मन पराइएका कर्मचारीहरुले बारम्बार त्यस्तो अवसर पाएका छन् भने उनका गलत क्रियाकलापको विषयमा असन्तुष्टि व्यक्त गर्नेहरुले अवसर पाएका छैनन् । 

बोर्डको यही शैलीको विषयमा प्रश्न उठाउँदा पछिल्लो समय एक कर्मचारीमाथि मिडियालाई सूचना चुहाएको आरोप लगाएर स्पष्टीकरण सोध्ने काम गरिएको स्रोतले बताएको छ । 

विदेश भ्रमणको विषयमा स्पष्ट मापदण्ड बन्नुपर्ने, कसैलाई लाखा कसैलाई पाखा गर्न नहुने लगायतका विषयमा प्रश्न उठाएर बोर्डका प्रवक्ता मुक्ति श्रेष्ठसँग केही साताअघि सहप्रवक्ताको जिम्मेवारी पाएका रुपेश केसीको चर्काचर्की परेको थियो । केसीले विदेश भ्रमण लगायतका अवसर बोर्डका कर्मचारीहरुले समान रुपले पाउनुपर्ने भन्दै आवाज उठाएका थिए । ‘जथाभावी र मनलाग्दी किन गरेको’ भनेर प्रश्न उठाएका थिए । तर, त्यही प्रश्न केसीका लागि भारी पर्न गयो। 

मुक्ति श्रेष्ठले आफूमाथि प्रश्न उठाएको रिपोर्टिङ गरेपछि बोर्डका अध्यक्ष हमालले रुपेश केसीमाथि ‘महत्वपूर्ण सुचना आफूनिकटका मिडियालाई चुहाएको’ भन्दै १५ दिने स्पष्टीकरण सोध्ने काम गरेका स्रोतको दाबी छ । ‘रुपेश केसीजीको दोष नै प्रश्न उठाउनु भएको छ । हिटलरकै शैलीमा हमाल आफू र आफ्ना टिमका व्यक्तिविरुद्ध प्रश्न उठाउनेहरुलाई ठेगान लगाउन अग्रसर भएकाजस्तो लाग्छ ।’ बोर्डकै एक उच्च अधिकारीले बिजशालासँग भने–‘हामीलाई त बोल्नै पनि डर लाग्न थालेको छ । उहाँ(अध्यक्ष)को कामको विषयमा प्रश्न गर्नु त झनै आत्माघाती हुने रुपेशजीलाई सोधिएको प्रष्टीकरणबाट पनि थाहा हुन्छ । लोकतान्त्रिक गणतन्त्रको पूँजीबजारको नियामक नेपाल धितोपत्र बोर्डभित्र लोकतन्त्रकै तेजोबध भएको छ । बोल्न पाइन्न, प्रश्न उठाउन पाइन्न । उहाँहरुको गलत कामको विरोध गर्न त झनै पाइन्न ।’

रमाइलो त के भने मिडियालाई महत्वपूर्ण सूचना चुहाएको आरोप लगाएर रुपेश केसीलाई स्पष्टीकरण सोध्ने भन्दै बोर्डले गरेको माइन्यूटको फोटोकपी नै मिडियाहरुमा चुहाइएको छ । 

बोर्डकै अर्का एक अधिकारीले पछिल्लो समय धितोपत्र बोर्डका अध्यक्ष हमालले विभिन्न कमजोर कम्पनीहरुलाई जथाभावी प्रिमियम मूल्यमा आइपीओ निश्कासन गर्न स्वीकृति दिएको, दोश्रो बजार निरन्तर घटिरहेको बेला सेयरको सप्लाई बढाउने गरी जथाभावी रुपमा सूचीकृत कम्पनीहरुलाई हकप्रद जारी गर्न दिएको आरोप लगाएका छन् । ‘चलखेलले सीमा नाघिसकेको छ । तर के गर्नू हामीले बोल्नै पाउँदैनौं । प्रश्न गर्नै पाउदैनौं ।’ ती अधिकारीले भने–‘अर्थमन्त्रालय र नेपाल सरकार पनि रमिते जस्तो बनेको छ । हमालजीको हिटलरी शासन झनै फस्टाइरहेको छ ।’ 

धितोपत्र बोर्डभित्रको आन्तरिक लोकतन्त्रको घाँटी निमोठ्ने काम गरेको आरोप लागेका अध्यक्ष हमालसँग प्रतिक्रिया लिन खोज्दा फोन रेसपोन्स गरेनन् । 

पछिल्लो समय स्पष्टीकरण थमाइएका रुपेश केसीले समेत बिजशाला संवाददाताको फोन उठाएनन् । 

चतुर शैली, लगानीकर्ता मख्ख !
लामो समय थाइल्याण्ड बसेर आएका हमाल चलखेल गर्न माहिर भएकै कारण नेपाल आएलगत्तै धितोपत्र बोर्डजस्तो सम्वेदनशील निकायको अध्यक्षमा पुग्न सफल भए । 

उनले बोर्डको अध्यक्षको रुपमा कार्यकाल सुरु गर्ने क्रममा सेयर लगानीकर्ताका नेताहरुलाई प्रभावमा पार्ने काम गरे । सेयर बजार सुधारका केही कामहरु गरेर उनले सेयर लगानीकर्ताहरुबाट सहानुभूति बटुल्ने काम गरे । बजारका केही लगानीकर्ताको निश्चित समूह तयार गरी तिनीहरुबाट सामाजिक सञ्जालमा प्रशंसाको खेती गर्न लगाए । बजारमा हिरोको रुपमा आफूलाई प्रस्तुत गराए । बजार सुधारकको रुपमा समेत स्थापित हुने प्रयास गरे । लगानीकर्ताका सानातिना काम गरेर विश्वास जितेपछि भने उनले भित्रभित्रै बजारमा नकारात्मक प्रभाव पर्ने ठूला ठूला कामहरु गर्न थाले । ‘विरोध गर्ने लगानीकर्ताहरुलाई मख्ख पारेर ठूला ठूला व्यापारिक समूहसँग उहाँको उठबस हुन थाल्यो ।’ स्रोत भन्छ–‘अहिले त उहाँको विषयमा प्रश्न उठाउँदा मात्रै पनि सुनियोजित ढंगले तयार लगानीकर्ता र नेताहरुले गाली बर्साउन थाल्छन् ।’

कर्मचारी भन्छन्-'सरकारले छानबिन गरोस्'
यसैबीच, धितोपत्र बोर्डका कर्मचारीहरुले बिजशालासँगको कुराकानीमा बजार सुधारका केही कामहरु गरेर त्यसलाई देखाउँदै हमालबाट धेरै गलत काम भएका दाबी गरे । उनीहरुले हमालले निश्चित समूहलाई फाइदा पुग्ने गरी दर्जनौ काम गरेका, खुलेआम रुपमा धितोपत्र बजारमा दीर्घकालसम्म नकारात्मक असर गर्ने कामहरु भएका, चलखेलले हद नाघेको दाबी गर्दै सरकारले छानबिन गर्नुपर्ने माग गरे । ‘हाम्रो जागिरको सुरक्षा हुन्छ भने हामी उनले गरेका कर्तुतहरुको विषयमा सचूना दिन तयार छौं । सरकारले चाँडोभन्दा चाँडो उनको कर्तुतको विषयमा छानबिन गरोस् ।’ कर्मचारीहरुले भने –‘अर्थमन्त्रीले उहाँमाथि गरेको विश्वास पटक पटक तोड्ने काम भएको छ । पछिल्लो समय अर्थतन्त्र सुधार्ने र लगानीकर्ताको मनोबल उकास्ने अभियानमा हिँड्नुभएको अर्थमन्त्री ज्यूले पनि हमालको कामको विषमा छानबिन गर्न उच्चस्तरीय समिति बनाउनुपर्छ ।’